बाग्मती

संविधान र कानून बलियो भएमात्र देशको विकास सम्भव छ: पाठक

विदुर । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले कुनै पनि देशको विकास हुनलाई संविधान र कानून बलियो हुनपर्ने बताएका छन्। आयोगको आयोजनामा बुधबार भएको विकास र मानव अधिकारसम्बन्धी अन्तरक्रियामा उनले मानव अधिकारको क्षेत्रमा अहिलेको विषय धेरैजसो महिलामा केन्द्रित हुने गरेको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले मानवाधिकार र कर्तव्य एकार्काको परिपूरक रहेको बताउँदै कर्तव्य पालना गर्दा केही अवस्थामा सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आउने गरेको बताए। नुवाकोट प्रहरी प्रमुख कृष्ण पल्ली मगरले विकासनिर्माणका काममा अवरोध हुँदा प्रहरी नपुगी हुँदैन भन्दै अवरोध हटाउँदा मानवाधिकार हननको समस्या देखिन सक्ने बताए।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्र पण्डितले देशभर अहिले निर्माणको समय भए पनि ती स्थान अपाङ्गतामैत्री नभएको गुनासो पोखे। कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि घिमिरे, अन्तरपार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष विन्दा ढुङ्गाना, नेपाली सेनाका प्रतिनिधि र पूर्वशिक्षक रामप्रसाद प्याकुरे ललगायतले उपभोक्ताको स्वास्थ्यप्रति सबैको ध्यानाकर्षण गराए।