राजनीति

भरतपुरमा माओबादी अध्यक्ष पुष्पकमल पुत्री रेणुलाई भोट हाल्नु काँग्रेसको गम्भीर गल्तीः गगन थापा

बागलुङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली काङ्ग्रेस वैचारिकरुपमा विचलित नभएको बताएका छन् । उनले काङ्ग्रेसमा गुटउपगुट भए पनि वैचारिकरुपमा स्पष्ट भएको बताए ।

पार्टीले देशभर सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले हिजोका दिनमा काङ्ग्रेसले गरेका गल्ती अब नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भरतपुरमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दहाल पुत्री रेणु दहाल र माओबादीलाई भोट हाल्नु काङ्ग्रेसको ठूलो गल्ती भएको र त्यस्ता गल्ती काँग्रेसले दोहोर्याउन नहुने बताएका छन् । “काङ्ग्रेस नीति र विचारमा स्पष्ट छ”, उनले भने, “अबका दिनमा काङ्ग्रेसको लोकप्रियता बढ्दै जानेछ ।” नेता थापाले अहिलेको सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएको आरोप लगाए।

उनले आजै नेपाल भुपू सैनिक सङ्घ बागलुङको ११औँ जिल्ला सम्मेलनलाई समेत सम्बोधन गरेको काङ्ग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जानकारी दिए ।