राजनीति

ओली सरकारले निरंकुशता लाद्न खोज्यो काँग्रेसले शसक्त प्रतिबाद गर्छः वरिष्ठ नेता पौडेल

भीमदत्तनगर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी बलियो बनाउनका साथै जनभावना बुझ्न काङ्ग्रेसले देशव्यापी जनजागरण अभियान सञ्चालन गरेको बताएका छन् ।

बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकाको आइविआरडीमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता पौडेलले निष्पक्ष र पारदर्शी हुन सकेमात्रै काङ्ग्रेस बलियो हुने धारणा राखे । “यही कुरा बुझाउन म अहिले सुदूरपश्चिम प्रदेश आएको छु”, नेता पौडेलले भने, “मुलुक र प्रजातन्त्रलाई सर्वोपरी ठानेर काम गर्दैछु ।”

उनले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारबाट मुलुकमा निरङ्कुश कदम लाद्न खोजिएको भन्दै त्यसका विरुद्धमा नेपाली काङ्ग्रेस लाग्ने बताए । “जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खाजिँदैछ, त्यो हुन दिन हुन्न”, उनले भने । प्रशिक्षण कार्यक्रममा नेता पौडेलसँगै केन्द्रीय सदस्य नारायणप्रकाश साउद, रामकृष्ण यादव, कमला पन्तलगायतका नेताको सहभागिता थियो ।