समाचार

काङ्ग्रेसद्वारा पाँचथर सामूहिक हत्याको सत्यतथ्य छानबिन गर्न माग

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा नौ जनाको सामूहिक हत्या भएको घटनाको गम्भीर छानविन गर्न सरकारसँग माग गरेको छ ।

काङ्ग्रेसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँंदै घटनास्थलमा पार्टीका प्रतिनिधि पठाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे र पार्टीको पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई पाँचथरको मिक्लाजुङ पठाएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकमग्न सिङ्गो गाउँप्रति पार्टीकोतर्फबाट समवेदना प्रकट गरेका छन् ।

नर्सको अनशनप्रति ध्यानाकर्षण

यस्तै काङ्ग्रेसले पेशागत हकहित, सुरक्षा एवं न्यूनतम सेवा सुविधाको माग राखी गत वैशाख २७ गतेदेखि अनशनरत नर्सको माग हालसम्म पनि राज्यबाट सम्बोधन नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत अनशनको १४औँं दिन बितिसक्दा पनि अनशनरत जीता बरालको माग सुनुवाई नहुनु दुःखद् भएको जनाएको छ ।

अनशनरत बरालको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रँदै गएको विज्ञप्तिमा उल्लेख छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बरालको जीवनरक्षाको प्रमुख दायित्व राज्यको भएको र यसमा सरकार गम्भीर हुनुपर्ने बताए । सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी संवादका माध्यमबाट पेशागत हकहित र अधिकारसँग सम्बन्धित सबै जायज माग पूरा गर्न उनले सरकारसँग माग गरेका छन् ।