साहित्य

साहित्यिक गतिविधि बढाउँदै दायित्व प्रतिष्ठान

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठानले साहित्यिक गतिविधिलाई बढाउँदै लगेको छ । संस्थाका आजीवन सदस्यले विभिन्न कृति प्रकाशन गर्दै आएका छन् । हालसम्म १२५ कृति प्रकाशन गरिएको संस्थाका अध्यक्ष रामप्रसाद पन्तले जानकारी दिए । प्रतिष्ठानमा ५८ आजीवन सदस्य छन् । अधिकांश सदस्यले कृति प्रकाशन गरिसकेका छन् ।

बाँकी रहेकाहरु पनि प्रकाशनको तयारीमा जुटेको पन्तले बताए । विसं २०५७ मास्थापना भएदेखि नै प्रतिष्ठानले निरन्तर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।  विसं २०४४ देखि प्रतिष्ठानले द्वैमासिक साहित्यिक पत्रिका ‘दायित्व’ प्रकाशन गर्दै आएको छ । “पत्रिकाले साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ”, उनले भने, “उत्कृष्ट साहित्यिक रचनाहरुलाई पत्रिकामा ठाउँ दिने गरेका छौँ ।” पन्तले स्थापनाकालदेखि हालसम्म प्रतिष्ठानको नेतृत्व गर्दै आउनुभएको छ । प्रतिष्ठानले प्रदेश नंं ३ सरकारको सहयोगमा आफ्नै भवन निर्माण गर्न लागेको छ । प्रतिष्ठानका पूर्वमहासचिव यादव भट्टराईले भवन निर्माण भएपछि साहित्यिक गतिविधि झनै बढ्दै जाने बताए ।

“भवन नहुँदा संस्थाका कामहरु प्रभावित हुन पुगेका छन्”, उनले भने, ”कार्यक्रम गर्नलाई हल र पर्याप्त कोठाहरु भएपछि गतिविधिहरु बढ्नेछन् ।” प्रतिष्ठानले २० औँ वार्षिकोत्सवका अवसरमा विभिन्न गतिविधि सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यमा योगदान दिने व्यक्तिलाई सम्मान गरिनाका साथै विभिन्न कृति लोकार्पण गरिएको छ । दायित्व वाङ्मय विशिष्ट सम्मानबाट वरिष्ठ कवि वैरागी काइँला र प्रा डा वासुदेव त्रिपाठीलाई सम्मान गरिएको छ ।

दायित्व वाङ्मय सम्मानबाट प्रा डा भगवान ढकाल र कवि कृष्णप्रसाद बस्याललाई सम्मान गरिएको छ । यस्तै हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट रु एघार हजारसहित साहित्यकार तेजप्रकाश श्रेष्ठ तथा दायित्व मुरलीदेवी गुरुदत्त स्मृति पुरस्कारबाट रु एघार हजारसहित जीवनचन्द्र कोइराला पुरस्कृत भएका छन् । दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट रु नौ हजारसहित अनिता आचार्य पुरस्कृत भएका छन् । सोही कार्यक्रममा पन्तद्वारा लिखित नियात्रासङ्ग्रह ‘गन्तव्य मन्तव्य’, ठाकुर शर्मा भण्डारीले लेख्नुभएको भूमिकासङ्ग्रह ‘शब्दार्चन’ र मुकुन्द न्यौपानेद्वारा लिखित ‘यो कस्तो प्रेम’ लघुकथासङ्ग्रह लोकार्पण गरियो ।