गण्डकी प्रदेश

पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

कास्की ।  पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो ।

सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन सहज हुने र पोखराको पर्यटन प्रवद्र्धनमा योगदान मिल्ने बताए । “पोखराबाट देहरादुनसम्मको सिधा सेवा सञ्चालनबाट दुवै देशका नागरिकले फाइदा लिन सक्नेछन्, यसबाट पोखरा तथा गण्डकी प्रदेशमा भारतीय पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिएका छौँ”, उनले भने।

पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, वनबास, रुद्रपुर, हरिद्धार हुँदै देहरादुनसम्म बस सञ्चालन गरिने र बुधबार पोखराबाट छुटेको बस शनिबार देहरादुनबाट सोही बाटो हुँदै फर्किने समितिका महासचिव योगेन्द्रबहादुर केसीले बताए । वातानूकुलितसहितको बसको भाडा एकतर्फी रु चार हजार ३२० रहेको उहाँले जानकारी दिए ।

सेवा सञ्चालनबाट भारतका विभिन्न तीर्थस्थलमा जाने नेपालीलाई पनि सहज हुने र भारतको हरिद्धार, ऋषिकेश तथा नेपालको मुक्तिनाथसम्म आउने जाने धार्मिक पर्यटक लाभान्वित हुने ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

देहरादुनमा करीब आठ लाख नेपाली भाषी बसोबास गर्दै आएका र सेवा सञ्चालनबाट उनीहरु पनि लाभान्वित हुने विश्वास समितिको छ । समितिअन्तर्गत सञ्चालित एक हजार २०० दिवा तथा रात्रि सेवाका बसले देशका विभिन्न भागमा यात्रुलाई सेवा प्रदान गर्दै आएको छ ।