गण्डकी प्रदेश

मृतकका परिवारलाई आर्थिक सहयोग

लमजुङ । दूधपोखरी गाउँपालिका–२ विचौर डुडडाँडाका स्व इन्द्रप्रसाद दवाडीका परिवारलाई लमजुङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । कतारमा रहेको डेउ इञ्जिनीयरिङ कम्पनीमा कार्यरत मृतक दवाडीका श्रीमती उमा दवाडीलाई संस्थाले आज आर्थिक सहयोग गरेको हो ।

गण्डकी प्रदेशसभाका सदस्य धनञ्जय दवाडी र लमजुङ सेवा समाज कतारका प्रतिनिधि कृष्ण बरालले संयुक्तरुपमा मृतकका श्रीमती उमालाई रु ३० हजार ५६१ हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य दवाडीले रोजगारीका लागि विदेश गएका नेपालीलाई दैनिक कामकाजसँगै स्वास्थ्यप्रति पनि सचेत रहन आग्रह गरे ।

दश वर्षदेखि कतारमा कार्यरत ३८ वर्षीय दवाडीको गत वैशाख १ गते हृदयाघातबाट निधन भएको थियो । लमजुङ सेवा समाज कतारको पहलमा वैशाख ३ गते शव नेपाल ल्याइएको बरालले बताए । मृतक दवाडीका दुई छोरी र एक छोरा गाउँको बागेश्वरी माविमा अध्ययरत छन् । कतारमा कार्यरत नेपाली कामदारलाई विपद्मा सहयोग गर्दै आएको लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाले जानकारी दिए ।