प्रदेश 1

बाह्र दिनदेखि सोलुखुम्बु सदरमुकाम अन्धकारमा

सोलुखुम्बु । विगत १२ दिनदेखि सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेका छन् । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् ।  कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ ।

जेठ ५ गते सम्पन्न गर्ने कार्यतालिका भए पनि आजसम्म मर्मत कार्य सकिएको छैन । मौसम प्रतिकूल भएका कारण निर्धारित समयमा काम नसकिएको कम्पनीका उपमहाप्रबन्धक रामेश्वर मास्केले जानकारी दिए। उनका अनुसार मौसम अनुकूल भए बिहीबार दिउँसोदेखि विद्युत् सेवा सञ्चालन हुनेछ ।

सिभिल, इलेक्ट्रोमेकानिकल साथै फुटेको पेनस्टक पाइप फेर्न कामसमेत सकिएकाले चाँडै विद्युत् बल्ने सम्भावना रहेको उपमहाप्रबन्धक मास्केले बताए। छ सय किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले लामो समयदेखि सदरमुकाम सल्लेरीसहित गार्मा, खोरिया, फाप्लु, जुनवेँसी लगायतका क्षेत्रमा विद्युत् वितरण गर्दै आएको छ ।

जनजीवन कष्टकर

सममायनै विद्युत् सेवा सञ्चालन नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनका लागि वैकल्पिक व्यवस्था गरिएको भए पनि लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको सल्लेरीका शिक्षक भोजकुमार अधिकारीले बताए।

यही समयमा कक्षा ११ को परीक्षा परेको हुँदा विद्यार्थीलाई अध्ययन गर्नसमेत समस्या भएको छ । अन्धकार सल्लेरीमा परीक्षा दिन आएका विद्यार्थीले परीक्षानै प्रभावित भएको बताएका छन् । विद्यार्थी सङ्गीता कार्कीले भने “चार्जवाला बत्ती भए पनि लामो समय टिक्दैन, गाउँबाट आएका विद्यार्थीलाई केही थाहा पनि हुँदैन, नपढीकन परीक्षा दिन बाध्य भएका छौँ।”

विद्युत् नहुँदा जेनेरेटर सञ्चालन गरेका पसलमा महँगो शुल्क तिरेर मोबाइलसहित विद्युतीय सामग्री चार्ज गर्नुपर्ने बाध्यता छ । प्रति मोबाइल रु ३० सम्म तिर्नुपर्ने मोबाइलफोन प्रयोगकर्ताले बताएका छन् । यता रु पाँच मा फोटोकपी गर्ने गरिएको भए पनि अहिले रु १० तिनुपर्ने बाध्यता रहेको स्थानीय चोलामाया राईले बताए।

विद्युत्को भरपर्दो वैकल्पिक व्यवस्था नहुँदा सञ्चार सेवासमेत प्रभावित बनेको छ । टेलिफोन, इमेल इन्टरनेटले समेत राम्रो काम गरेको छैन भने जिल्लामा सञ्चालित एफएम रेडियोले नियमित कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।

विद्युत् तथा इमेल इन्टरनेटसमेत नहुँदा लघुवित्तको कारोवारसमेत प्रभावित बनेको छ । स्वदेशी लघुवित्तका शाखा प्रमुख प्रेमबहादुर बस्नेतले महँगो शुल्क तिरेर जेनेटर प्रयोग कर्ता कहाँ गएर सेवा सञ्चालन गरिएको बताए। जिल्लामा सञ्चालित सरकारी कार्यालयले जेनेरेटरको प्रयोग गरी सेवा सञ्चालन गरिरहेका छन् ।

कतिपय कार्यालयमा वैकल्पिक व्यवस्था नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन् । जिल्ला नापी कार्यालयमा फिल्डबुक उत्तार गर्न आएको तिङ्लाकी होमाकुमारी भुजेलले रित्तो हात फर्कनुपरेको गुनासो गरे। भुजेलजस्तै अन्य थुप्रै सेवाग्राही सेवा नलिई फर्केका छन् ।