राजनीति

युवाकै सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नु पर्छ- मुख्यमन्त्री राई

इनरुवा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले सो कुरा बताए।

उनले दुव्र्यसनले समाजमा आपराधिक गतिविधिका घटना बढाउने भएकाले यसको न्यूनीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले दुव्र्यसनविरुद्धको अभियानका लागि ‘सगरमाथा टिम क्लब गठन गरेर हामी अगाडि बढौँ’ भन्ने मूल नाराका साथ प्रदेशभरिका युवाको सक्रिय सहभागितामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुसियैतले काठमाडौँपछि सुनसरी आपराधिक र दुव्यर्सन गतिविधि हुनेमा दोस्रो जिल्लाका रुपमा रहेकाले यस्ता गतिविधिलाई निस्तेज पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । प्रदेश नं १ का प्रतिपक्षी दलका नेता राजीव कोइरालाले प्रहरीले सञ्चालन गरेको दुव्र्यसनविरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा दुव्र्यसनलाई न्यूनीकरण गर्नका लागि १६ विद्यालयमा फ्रेन्ड क्लब गठन गरेर अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खड्का, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश नं १ का वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहाल, जिल्ला समन्यव समिति सुनसरीका उपप्रमुख कृष्णकुमारी विक, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्कालगायतकाले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता जनाएका थिए ।