पत्रपत्रिका

आफन्तमै क्रूरता बढ्दो ! सात महिनामा श्रीमती हत्याका ६७ घटना

काठमाडोँ ।

१.नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे ?

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ । दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । तर, मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ । तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे रु प्रहरीले जवाफ दिन बाँकी छ ।

२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?

घटनामा ससुरा बमबहादुर फियाक, श्रीमती पुर्सीमाया र ३५ वर्षीया छोरी मनकुमारीको हत्या भएको छ । त्यस्तै, बमबहादुरकी साइँली छोरीका छोरा आसे फियाकको पनि त्यही घरमा हत्या भएको छ । त्यस्तै, बमबहादुरका ४१ वर्षीय माइँला ज्वाइँ धनराज शेर्मा, उनकी ४० वर्षीया श्रीमती जस्मिता, कक्षा ९ मा पढ्ने १४ वर्षीया छोरी युहाना, कक्षा ४ मा पढ्ने आठ वर्षीया मुना र कक्षा १ मा पढ्ने ६ वर्षीया इच्छाको पनि हत्या भएको छ । सो गाउँमा सिलाइ–कटाइसम्बन्धी तालिम चलेको र गत साता धनराजको घरमा खाजा खाने सबैजसो गाउँले बिरामी भएको स्थानीय अस्पतालले पनि पुष्टि गरेको छ । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो । साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए रु अहिलेसम्म खुलेको छैन । उनी त्यो दिन गाउँमा आएको कसैले पुष्टि गरेको छैन ।

३. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ?

तालिममा सहभागी भएर खाजा खाएका सातजना स्थानीय बिरामी भएका थिए । पाँचजनालाई जिल्ला अस्पताल लगिएको थियो भने दुईजना गम्भीर बिरामीलाई स्थानीय समर्पित हस्पिटल लगिएको थियो । समर्पितका डा। विशालचन्द्र सुवेदीले मंगलबार राति नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘दुईजना बिरामी बेहोसजस्तै अवस्थामा आउनुभएको थियो, उहाँहरूले कुनै प्रश्नको जवाफ दिन सक्नुभएको थिएन । तर, अर्को दिन बोल्न सक्नुभयो । घाँटी र पेट दुखेको बताउनुभयो । उहाँहरूका आफन्तले सिसाको धुलो मिसिएको नुन पनि लिएर आउनुभएको थियो । जिल्ला प्रशासन र प्रहरीका हाकिमहरू पनि आउनुभएको थियो । तर, बिरामीहरू ठीक हुँदै गएपछि हामीले डिस्चार्ज गर्‍यौँ । त्यसपछि अनुसन्धान के भयो ? हामीलाई जानकारी छैन ।’ खानामा सिसा मिसाएर सामूहिक हत्याको प्रयास कसले र किन गरेको थियो ? प्रहरी प्रशासनले किन अनुसन्धान गरेन ? प्रश्न अनुत्तरित छ ।

४. मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् ?

प्रहरीको प्रारम्भिक अनुसन्धानले मानबहादुरले माइतमा बस्दै आएकी श्रीमती, ससुराली र साढुदाइको परिवार सखाप पार्ने योजनाअनुसार हत्या गरेको संकेत गरेको छ । उनीहरूको घरेलु विवाद रवि इलाका प्रहरी कार्यालयसमेत पुगेको थियो । प्रहरीले मिलापत्र गराए पनि श्रीमती माइत बस्दै आएकी थिइन् । तर, पारिवारिक विवादले मानबहादुर मानसिक तनावमा भएको स्थानीयहरूले बताएका छन् । तर, मानसिक रूपमा विचलन भएको व्यक्तिले खुकुरीले दुई परिवार सखाप कसरी गरे ? एकजना व्यक्तिले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् भन्ने प्रश्न अनुत्तरित छ ।

५. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत

ससुराको घरमा श्रीमतीसहित चारजना र १० मिनेट टाढा साढुको घरका पाँचजनाको हत्या गरेपछि करिब २५ किलोमिटर टाढा लुमाङदिनको जंगलमा गएर मानबहादुरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, करिब दुई किलोमिटरअगाडि उनको झोला भेटिएको छ । झोलामा सेन्डोसहित तीनवटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । यी सबै कपडा रगताम्मे छन् । एउटा व्यक्तिले तीन–तीनवटा टिसर्ट किन लगायो ? सबैमा रगत कसरी लाग्यो ? यो प्रश्नले घटनालाई रहस्यमयी बनाएको छ ।

६.हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा

रगतले लतपतिएका सेन्डोसहित तीनवटा टिसर्ट झोलामा भेटिएका छन् । खुकुरी पनि त्यहीँ छ । तर, दुई किलोमिटर पर झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले कालो पाइन्टमाथि हरियो टिसर्ट लगाएका छन् । हरियो टिसर्टभित्रको सेतो सेन्डो पनि लत्रिएको अवस्थामा देखिन्छ । तर, यी कुनै पनि लुगामा रगतको निसाना देखिँदैन । हत्यापछि आत्महत्या गर्न हिँडेका मानबहादुरले सम्पूर्ण कपडा किन फेरे ? उनीसँग दुईवटा सेन्डोसमेत कसरी भए ? घटना लुकाउनु थियो भने २३ किलोमिटर हिँडिसकेका उनले कपडा किन लुकाए ? दथप दुई किलोमिटर हिँड्नासाथ आत्महत्या कसरी गरे ? यो प्रश्न झन् रहस्यमयी छ ।

७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन

जुन रूखमा मानबहादुर झुन्डिएका छन् त्यसको फेदमा चप्पल भेटिएका छन् । तर, चप्पलमा रगतको कुनै निसान छैन । चप्पल पनि हतासिएको मान्छेले राखेजस्तो छैन । ढोकामा जस्तै मिलाएर राखिएको अवस्थामा छन् । त्यत्रो नरसंहारमा संलग्न भएको मान्छेको शरीर, लुगा र चप्पलमा समेत रगतको निसान किन छैन ? आत्महत्या नै गर्नु थियो भने उनले रगत किन पखाले ? उनले रगत लागेको कपडा फेरेका हुन् भने प्रमाण लुकाउन चाहन्थे । तर, प्रमाण लुकाउन खोजेको मान्छेले आत्महत्या किन गर्‍यो ? हत्या गर्न खुकुरी बोकेर हिँडेको मान्छेले आत्महत्या गर्न डोरी कसरी बोक्यो ? यी प्रश्नको जवाफ प्रहरीले खोज्नुपर्नेछ ।

क्रूर बन्दै समाज, आफन्तभित्रै हत्या बढ्दो, सात महिनामा श्रीमती हत्याका ६७ घटना

सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् ।समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ ।’

गत साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।

१५ आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् ।

त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए ।

आफन्त नै संलग्न बडिखेल हत्याः जेठानबाटै नगरकोटी परिवारको हत्या

१६ असोज ०६० मा दसैँको महाअष्टमी परेको थियो । ललितपुरको लेलेमा भानु नगरकोटी र उनका परिवार मासुभात खाएर सुतेका थिए । सोही रात भानुसहित ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । यो सामूहिक हत्याको घटना लामो समयसम्म रहस्यमै रह्यो । तर, १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भयो ।

भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको महानगरीय अपराध महाशाखाले पुष्टि गर्‍यो । सुरुमा पक्राउ परे पनि संलग्नता पहिल्याउन नसकेपछि प्रहरीबाट छाडिएका उनी २ भदौ ०७२ मा संलग्नता पुष्टि भएर पक्राउ परेका थिए । आफ्नी श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक सम्बन्ध रहेको आशंकामा चन्द्रबहादुरले मदिराको नसामा मध्यराति बहिनीज्वाइँको परिवारकै हत्या गरेको अनुसन्धानमा खुलेको हो । तर, जेल परेको एक वर्षमै चन्द्रबहादुरको मृत्यु भइसकेको छ ।

भोजपुरका तीन बालबालिकाको हत्या रहस्यमै

०७४ असारमा भोजपुर अरुण–१ प्याउलीमा तीन बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सिआइबीबाट समेत टोली खटिए पनि सफलता हात लागेको छैन ।

नेपालगन्जमा ससुराबाटै ज्वाइँ सहित परिवारका ६ को हत्या

नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा रहस्यमय तरिकाले हत्या भएको थियो । घटनाको १३ वर्षपछि गत असोजमा हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिएको थियो । हत्याका वेला श्रीमती भारत गएकी थिइन् ।

नागरिकताका लागि दाइको परिवारकै हत्या

सप्तरीको राजविराजमा गत वर्ष जेठमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेका थिए । दाइले नागरिकता बनाउन सहयोग नगरेको बहानामा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए । दाइको सम्पत्ति हात पार्नसमेत परिवारकै हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

समाजमा विचलन बढ्योः डिआइजी विश्वराज पोखरेल
प्रवक्ता, नेपाल प्रहरी

पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छ । पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झै–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन् । पाँचथरको घटनाको अनुसन्धान हुँदै छ, तर आपराधिक समूहबाट होइन कि जस्तो देखिन्छ ।

तराईतिर हेर्ने हो भने दाइजोका कारण समेत हत्या भएका छन् । सामाजिक परिवेशभित्रको विचलनबाट सिर्जित हत्याका घटना बढेका छन् । परिवारभित्र र नातेदारभित्र हत्या भएका छन् । हाम्रो संस्कृतिमा आएको विचलन नै यसको मुख्य कारण हो जस्तो लाग्छ । सामाजिक मूल्य–मान्यता फेरिँदै गएका छन् । एउटा विषयमा परिवारका सदस्यभित्रै हेर्ने दृष्टिकोण फरक हुने गरेको छ । आफू केन्द्रित भएर सोच्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ । यस्तो सोच र मान्यताले हत्या घटना बढेका छन् ।

प्रहरीले पनि त्यस्ता घटना रोक्न नयाँ कार्यशैली अवलम्बन सुरु गरेको छ । अहिले हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँमा लिएर गएका छौँ । सायद यो कार्यक्रमले यस्ता घटनामा कमी आउनेछ ।

नेपालीमा रिस धेरै, सहनशीलता कमः हेमन्त मल्ल
अवकाशप्राप्त डिआइजी

अमेरिकालगायत देशमा यस्ता सामूहिक हत्याका घटना हामीले विगतमा पनि सुन्दै आएका हौँ । नेपालमा पनि यस्ता घटना हुन थालेका छन् । यसको एउटा कारण द्वन्द्वको प्रभावसमेत हो । द्वन्द्वले पनि मान्छेलाई यस्ता घटनामा योगदान दिएको हुन सक्छ । द्वन्द्वग्रस्त देशमा काम गरेर फर्किएका व्यक्तिमा पनि यस्तो आँट र क्रुरता हुन सक्छ ।

यस्ता घटनाका पछाडि हाम्रो सामाजिक–आर्थिक कारण पनि प्रमुख छ । गरिबीले मान्छेलाई अपराधतर्फ डोर्‍याउँछ । जघन्य अपराधपछाडिका कारण हेरिनुपर्छ ।

अर्को कुरा, नेपालीमा सहनशीलता एकदमै कम छ । सडकमा मोटरसाइकलले छोयो भने पनि मारौँलाजस्तो गरी झगडा गरेको देखिन्छ । नेपालीमा रिस अत्यधिक देखिन्छ । रक्सी र लागुऔषधजस्ता पदार्थको सेवनले पनि यस्ता घटना बढाएका हुन सक्छन् । नयाँ पत्रिका