सामाजिक सञ्जाल

सामाजिक सञ्जालका अपराध नियन्त्रण यसरी गर्नसकिन्छ, सजिलो उपाय !

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले परिवार सुरक्षित भएमा सिङ्गो समाज र देशकै सुरक्षा गर्न सकिने बताए । “विद्युतीय माध्यमको प्रयोग गर्न समाज धेरै अगाडि रहेकाले सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधलाई न्यूनीकरण गर्न समाजमा रहने सबैको समान उत्तरदायित्व रहेको छ”, उनले भने ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले शान्त, सुरक्षित र सभ्य समाज निर्माण गर्ने इच्छा समाजमा रहने सबैको चाहना भएकाले सामाजिक सञ्जालबाट हुने अपराधलाई न्यूनीकरण गरेमा समाजमा हुने विकृति र विसङ्गतिलगायतका चुनौती सामना गर्न सकिने बताए ।

तिलगङ्गा आँखा प्रतिष्ठानका निर्देशक प्रा डा गोविन्द पौडेलले शान्त र सुरक्षित समाज निर्माणका लागि अस्पतालले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अगाडि बढेको उल्लेख गरे ।