सूचना प्रविधि

टेलिफोन टावरका सामग्री अलपत्र

जाजरकोट । जिएसएम प्रविधिका टावर समयमै निर्माण नहुँदा जिल्लावासी समस्यामा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा निर्माण गर्ने भनी सदरमुकामसम्म ढुवानी गरी ल्याइएका टावरका सामग्री सदरमुकाममा अलपत्र अवस्थामा भएपनि निर्माण कम्पनीले चासो देखाएको छैनन् । डाँडागाउँ, मजकोट, नायकवाडा, पैँक, सेरी, साल्मा र सक्लामा निर्माण गर्ने भनिएका टावर अलपत्र परेका हुन् ।

सदरमुकामको शान्तिचौतारामा गत पुस ३ गते नेपालगञ्जबाट ढुवानी गरी ल्याइएका टावरका सामग्री निर्माणको जिम्मा लिएको कम्पनीले ढुवानी गरी गाउँमा नलैजाँदा टावर निर्माणमा ढिलाइ भएको हो । स्टार नेपाल प्रालिले टावर निर्माणका लागि ठेक्का लिएको छ । टावर निर्माणको जिम्मेवारी पाए पनि अप्ठ्यारो भूभाग भएकाले टावरका सामग्री ढुवानीमा समस्य परेको कम्पनीका भोजराज बडूले बताए ।

निर्माण कम्पनीले कम मूल्यमा सामग्री ढुवानी गर्न खोजेपछि टावरका सामग्री सदरमुकाममै थन्किएका छन् । ढुवानी भाडाको कुरा नमिल्दा टावरका सामग्री निर्माणस्थलमा लैजान नसकिएको बताउने निर्माण कम्पनीले नाफाका लागि मात्र काम गर्दा समस्या भएको स्थानीयवासीको आरोप छ । निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा जनताले सेवा पाउन सकेका छैनन् ।

जुनिचाँदे गाउँपालिकाको मजकोट, नलगाड नगरपालिकाको लहँ, डाँडागाउँमा टावर निर्माणका लागि जग मात्र खनिएको छ । त्यस्तै नलगाडकै हल्चौर गरायलामा आधा निर्माण भएको टावरबीचमै अलपत्र परेको छ । जिल्लास्थित नेपाल टेलिकमको कार्यालयलाई टावर निर्माणको काम कहाँ र कुन ठाउँमा भइरहेको छ भन्ने चासोसमेत नभएको स्थानीयवासीको आरोप छ ।