शिक्षा

प्रधानाध्यापकको नियुक्तिमा ढिलासुस्ती भएपछि अध्यापनमा असर

कनकाई् । नमूना विद्यालयका रुपमा प्रस्तावित झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा छ महीनादेखि प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीका कारण पठनपाठनमा असर परेको छ ।

प्रधानाध्यापकको दाबेदारीका रुपमा बहालवाला निमित्त प्रधानाध्यापक गोपीकृष्ण भट्टराईसहित अन्य तीन सहायक प्रधानाध्यापकहरु कर्णबहादुर डाँगी, हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटीबीच भएको प्रतिस्पर्धाका कारण अध्यापनमा समेत असर परेको छ । नयाँ शैक्षिक सत्रको पहिलो परीक्षा आउन अब एक महीना मात्र बाँकी रहँदा पनि आजसम्म विद्यालयमा सबै विषयको अध्ययन अध्यापन नियमित नहुनुमा विद्यालय प्रशासनको लापरवाही भएको अभिभावक चन्द्रप्रसाद प्रसाईंले बताए ।

उक्त विद्यालयले अध्यापनसँगै अन्य दैनिक गतिविधिमा समेत बेवास्ता गर्दै आएको छ । विद्यालयको शौचालयको दुर्गन्धले विद्यार्थीहरुलाई कक्षाकोठामा बस्नसमेत समस्या भएको कक्षा दशमा अध्ययनरत छात्रा गरिमा पोखरेलको गुनासो थियो । शौचालयका सबै प्यान फुटेका र तिनको मर्मत तथा सरसफाइमा विद्यालय प्रशासनको ध्यान नगएको अर्का अभिभावक धर्मानन्द भट्टराईले बताए । अङ्ग्रेजी माध्यमलाई प्राथमिक्ता दिएर नमूना विद्यालयका रुपमा अघि बढेको यस विद्यालयमा भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुको विद्यालय पोशाक, विद्यालय आगमनको समय, अनुशासनजस्ता विषयमा बेलैमा सरकारी अनुगमन हुनुपर्नेमा उनले जोड दिए ।

जिल्लामा नमूना विद्यालयका रुपमा प्रस्तावित प्रायः सबै विद्यालयमा निर्देशिकाअनुसार प्रधानाध्यापकको व्यवस्थापन भई विद्यालय विकास योजना कार्यान्वयन हुन थालेको बताइएको छ । प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीकै कारण नमूना विद्यालयका लागि शिक्षा विभागबाट सःसर्त आउने अनुदान रकमसमेत रोकिने अवस्थामा पुगेकाले अभिभावकहरू चिन्तित भएका छन् । विद्यालयमा केही शिक्षकहरु स्वास्थ्यको कारण देखाउँदै बिदामा छन् ।

उक्त विद्यालयमा अन्य तीन शिक्षकको अभाव भएकाले विज्ञापन सार्वजनिक गरेर पदपूर्तिका लागि प्रक्रिया अघि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताए। शैक्षिक संस्थामा यस किसिमको सङ्क्रमणकालीन अवस्था आउन नदिन व्यवस्थापन समितिकातर्फ बाट हदैसम्मको प्रयास भइरहेको र चाँडै यसको निकास आउने प्रतिबद्धता अध्यक्ष उप्रेतीले जनाए।

यस विषयमा टुङ्गो लगाउन छ महीनाअघि देखि विभिन्न चरणमा बसेका बैठक र भएका छलफलबाट पनि निकास नआएपछि प्रक्रिया लम्बिँदै गएकाले प्रधानाध्यापकका चारै सम्भावित उम्मेदवार यतिबेला प्रमुख राजनीतिक दलका नेताहरुसँगको भेटघाटमा व्यस्त रहेको बताइएको छ । तत्कालीन प्रधानाध्यापक निर्मलकुमार खतिवडा सेवा निवृत्त भएपछि गत मङ्सिर २५ गतेदेखी निमित्त प्रधानाध्यापकका रुपमा भट्टराईले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।