आर्थिक

प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

दमौली । लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । ६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले रु एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । उनका अनुसार छनोट गरी पठाइएका योजनामा फोहरमैला सङ्कलन केन्द्र, बसपार्क निर्माण, वडा नं १ र २ जोड्ने गुबेखोलामा पक्की पुल, वडा नं ६ स्थित तीन खोलेदेवी मन्दिर जाने कुम्ले खोलाको पक्की पुल र वडा नं ८ र ९ जोड्ने सुरौदी खोलामा पक्की पुल रहेका छन् ।

यसैगरी बैठकले जेठ १२ गतेदेखि आर्थिक वर्ष २०७६÷७७ का लागि वार्षिक योजना तथा बजेट तर्जुमा शुरु गर्ने भएको छ । असार ५ गतेसम्म विभिन्न समितिको बैठक, टोल तथा वडा भेला गर्ने निर्णय भएको छ । असार ९ गते नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र २३ गते नगरसभा हुनेछ । बैठकले यहाँका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

नगरवासीसँग नगर प्रमुख

नगरवासीका गुनासो, विकास निर्माणमा भएका ढिलासुस्ती र नगरवासीको सुझाव सङ्कलन गर्ने उद्देश्यले नगरपालिकाले शुरु गरेको ‘नगरवासीसँग नगर प्रमुख’ संवाद कार्यक्रमको दोस्रो संस्करण सोमबार सम्पन्न भएको छ ।

सो अवसरमा व्यास नगरपालिका–४ स्थित हरिओम टोल विकास संस्थाका अध्यक्ष हरिशचन्द्र वाग्लेले वडामा सम्पन्न हुने योजनाको गुणस्तरबारे नगरपालिकाले बेला–बेलामा अनुगमन गर्नुपर्ने बताए । नगरपालिका–४ कै हरिशचन्द्र कार्कीले आफ्नो टोलमा सडक अत्यधिक धुलो हुने गरेकाले कालोपत्र गर्न नगरपालिकासँग अनुरोध गरे । सो अवसरमा कार्यवाहक नगरप्रमुख मीरा जोशीले नगरवासीका हरेक गुनासो समाधानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै नगरका सबै वडामा समय मिलाएर योजनाको अनुगमन भइरहेको जानकारी दिए ।

६३ वर्षमा नागरिकता

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा वर्षौदेखि बसोबास गर्दै आउनुभएका ६३ वर्षीय प्रेमबहादुर गुरुङको कच्ची घर विसं २०७२ को भूकम्पले भत्कियो । भूकम्पले घर भत्काएसँगै पूर्ण क्षतिको सूचीमा उहाँको नाम समावेश भयो । घर पुनःनिर्माणका लागि सम्झौता गर्ने बेलामा उनलाई आपत आइलाग्यो । कारण उनसँग नागरिकता थिएन । नागरिकता नबनेका कारण उनले भूकम्पबाट क्षति भएको घर पुनःनिर्माणका लागि सम्झौता गर्न पाउनुभएन । नागरिकता नबनेकै कारण घर पुनःनिर्माण नहुने हो कि भन्ने चिन्ता अब प्रेमबहादुरलाई टरेको छ ।

नगरपालिका–१२ को क्रियाशीलतामा उनले आइतबार मात्रै नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता लिएपछि खुशी हुँदै उनले भने, “बल्ल नागरिकता पाएँ, अब घर बन्ने आशा जागेको छ ।”

कास्की जिल्लाको साविक भरतपोखरी गाविसबाट वर्षौँ पहिला उनको परिवार फिरफिरे बसाइँसराइ आएको थियो । उहाँ सानै हुँदा बाबुआमाको मृत्यु भयो । जब उनी हुर्कंदै गए, उनको घरवार पनि त्यतै भयो । सार्वजनिक जग्गामा टहरो बनाएर बसोबास गर्दै आएका उनको हालसम्म पनि नागरिकता नभएको थाहा पाएपछि वडाध्यक्ष मनराज गुरुङको प्रयासमा उनले नागरिकता बनाएका हुन्।

वडाध्यक्ष गुरुङका अनुसार कास्कीको साविक भरतपोखरी गाविस (हाल पोखरा महानगरपालिका वडा नं ३०) बाट सर्जिमन, मुचुल्का र इलाका प्रहरी कार्यालय बेलचौताराबाट फिरफिरेमा वर्षौँदेखि बसेको प्रमाणित गराएपछि गुरुङले नागरिकता प्राप्त गेका छन् । वडाध्यक्ष गुरुङले भने, “झन्झटिलो नेपालको कानून र किचलो कर्मचारीको प्रवृत्तिलाई पार गर्दै नागरिकताविहीन असहायलाई लामो समयको प्रयासपछि नागरिकता दिलाउन पाउँदा खुशी लागेको छ ।” गरीब, असहाय र अशिक्षित नागरिक राष्ट्रको पहुँचसम्म पुग्न नसक्ने रहेछ भन्ने नमिठो अनुभूतिसमेत आफूले यसक्रममा व्योहोरेको उनको अनुभव छ ।

यसैगरी प्रेमबहादुरको दाजु ६७ वर्षीय नरबहादुर गुरुङको कास्कीबाट नागरिकता जारी भएको र उनलाई समेत तनहुँबाट नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । दाजुभाइको नै नागरिकता बनेपछि भूकम्पबाट भत्किएको घर पुनःनिर्माणका लागि प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष गुरुङले जानकारी दिए । गुरुङ दाजुभाइले अर्काको खेती किसान र माछा मारेर जीवन निर्वाह गर्दै आएउका छन् ।