लुम्बिनी

तीन घण्टा पैदलयात्रा गरी ल्याएको रोल्पाको काफलले बजार पाएन

रोल्पा । रोल्पा जिल्लाको एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिका–८ जङ्कोट निवासी १२ वर्षीया बालिका सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् र शनिबार बिहानै सदरमुकामतर्फ लाग्छिन् । उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करीब तीन घण्टाको पैदलयात्रा हिँड्नुपर्छ ।

“काफलको ‘सिजन’ हो, म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु”, उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा ८ मा पढ्ने जमुना वलीले भनिन् । “बुबा, आमा कृषि पेशा गर्नुहुन्छ, हामीलाई भनेजति पढाइ खर्च दिन सक्नुहुन्न, यसरी हामीले काफल बेचेर कमाएको पैसाले कपी, कलम किन्ने र नास्ता खाने गर्दछौँ”, जमुनाले थपिन् ।

घरमा आफ्ना अभिभावक बेरोजगार हँुदा पनि सानो कक्षामा पढ्ने बालबालिकाले यो समस्या भोग्नुपरेको हो । “आफू सानै उमेरको हुँदा आमाले अर्कैसँग विवाह गर्नुभयो रे, बुबा कता हुनुहुन्छ पत्तो छैन”, कक्षा ७ मा पढ्ने काफल बेच्न सदरमुकाम झरेकी सम्झना परियारले भनिन्, “पढ्ने मन त साह्रै हो, तर के गर्नु बुबाआमा कसैको माया र साथ पाइनँ, तै पनि सङ्घर्ष गरेर पढ्ने प्रयास गरिरहेकी छु ।” परियार हाल आफन्त चमेली परियारको घरमा बसेर अध्ययन गरिरहेकी छिन ।

यी त उदाहरणीय पात्रहरू मात्र हुन् । आजभोलिको यो ‘सिजन’ काफलको हो । जिल्लाका अधिकांश जङ्गल क्षेत्रमा काफल पाइने गर्दछ । शुक्रबार दिउँसो काफल टिप्न जाने अनि शनिबार बिहानै बजारमा पु¥याएर बिक्री गर्ने अधिकांश रोल्पाली बालबालिकाको दैनिकीजस्तै बनेको छ ।

“काफलको सिजन छ, सबैले हामी जस्तै गरी काफल बेच्न ल्याउँछन्, भने जति भाउ जाँदैन, सजहै बिक्री पनि हुँदैन”, टुँडिखेलमा काफल बेच्दै गरेकी चमेली परियारले भनिन्, “पहिलोपटक आउँदा त रु १५ को एक गिलास पनि बेचियो, यसपालि रु १० को एक गिलास पनि बिक्री भएन, अब के गर्ने र घर फर्काएर लाने त होला ।”

शनिबार सदुमुकामका सबै बजार बन्द हुने साथै स्थानीय सरकार भएसँगै बजारमा चहलपहल कमी भएकाले पनि ती बालबालिकाले बिक्रीका लागि ल्याएको काफल बिक्री नभएको स्थानीय व्यापारी रामकुमार केसीले बताउनुभएको छ । “अरु दिन काफल बिक्री गर्न आऊँ भने पढाइ छुट्छ, शनिबार बिक्री गर्न आउँदा बिक्री नै हुँदैन”, उनीहरूले गुनासो गरे । आफूहरूलाई खर्च नपुग्दा पढाइमा समस्या परेको गुनासोसमेत उनीहरूले गरेका छन् । शुक्रबार र शनिबारबाहेक पढिरहेको अन्य समयमा पनि कसरी पढाइ खर्च जुटाउने भन्ने समस्या हुने गरेको उनीहरूको भनाइ छ । यसबाट आफूहरूको पढाइसमेत प्रभावित हुने गरेको छ ।

रोल्पामा दुई लाख २४ हजार ५०६ जनसङ्ख्यामध्ये करीब तीन हजार २०० घरधुरी गरीबीको रेखामुनि रहेका छन् । गरीबीकै कारण जिल्लामा एक हजार ७०० बालबालिका विद्यालय बाहिर छन् । यसभित्र पनि टुहुरा, असहाय र अनाथ बालबालिका बढी मारमा पर्ने गरेका छन् । साँझ बिहान एकछाक जुटाउनकै लागि अधिकांश यी बालबालिका इँटाभट्टा, होटल, पसलमा श्रम गर्न बाध्य छन् । शिक्षा र बालबालिकाको क्षेत्रमा जिल्लामा विभिन्न सङ्घसंस्थाले काम गरिरहे पनि अझै धेरै सङ्ख्यामा बालबालिका विद्यालय बाहिर छन् ।

विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र गरीबीकै कारण स्कूलमा भर्ना भए पनि कपी, कलम जुटाउनका लागि काफल बेच्नुपर्ने बालबालिकाको समस्या हल गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले शिक्षा क्षेत्रमा विषेश कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको शिक्षाविद्हरूले बताएका छन् ।