राजनीति

युवाहरुले सरकारलाई साथ दिएमा छिटो देश विकास हुन्छ: प्रधानमन्त्री

धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि वैदेशिक लगानी र प्रविधि भित्र्याइने बताएका छन् । मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण (अप्टिकल फाइबर नेटवर्क) को आज गल्छी गाउँपालिका–४ मासटारमा शिलान्यास गर्दै उनले विकास गर्नका लागि देशमा सम्भावना नै सम्भावना भएको बताए ।

उनले नेपाल जस्तो उर्वर देशले कृषिलगायतका खानेकुरा आयात गरिरहेकाप्रति चिन्ता व्यक्त गर्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण, व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गरी यसलाई व्यवहारमा उतार्ने गरी आगामी बजेट आउने बताए ।

आगामी वर्ष दुनियाँमा तीव्र आर्थिक विकास गरेको देशका रुपमा चिनिने गरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले युवालाई देशमै विकासका लागि लाग्न, कृषिमा आमूल परिवर्तन हुने गरी लाग्न र निर्यात गर्ने कृषि व्यवसायी बन्न आग्रह गरे । उनले सूचना महामार्गले शिक्षा, स्वास्थ्यलगायतको विकासका लागि सबैलाई छरितो बनाउने भएकाले यसले विकासका अन्य ढोकाहरु खोल्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनका लागि बृहत् काम गर्न सकिने बताए । प्रधानमन्त्री ओलीले युवाहरुले सरकारलाई साथ दिएमा छिटो विकास सम्भव भएकामा जोड दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डिजिटल नेपालको फ्रेमवर्कलाई १५औँ योजनाले समेटेकाले चार वर्षभित्र यसले रु आठ अर्बको गार्हस्थ्य उत्पादनको योगदान गर्ने बताए । “हाम्रा पुर्खाहरु खेत नहुँदा भोकै परिन्छ भन्ने पीर गर्ने अवस्थामा थिए, हाल आएर मोबाइल, ल्यापटप र इन्टरनेट नभए कसरी काम गर्न सकिन्छ भन्ने अवस्थामा आएको छ”, उनले भने ।

कार्यक्रममा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सांसद खेम लोहनी, भूमि त्रिपाठी, प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतले बूढीगण्डकी जलविद्युत् एक हजार २०० मेघावाट नघटाई निर्माण गर्न, चीनबाट भारतसम्म जोड्ने छोटो दूरीका सडकहरु निर्माण गर्न, गिट्टी, वालुवा उत्खनन तथा निकासीसम्बन्धी कानून निर्माण गर्न, सडकहरु निर्माण गर्न एवं तरकारी सुपरजोन बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश नं १, २ र ३ का ३५ जिल्ला तथा मध्यपहाडी लोकमार्ग र सो लोकमार्गमा जोडिने अन्य मार्गहरुमा अप्टिकल फाइबर नेटवर्क विस्तार तथा उच्च क्षमताका उपकरण जडान गरी सूचना महामार्ग निर्माण गर्न शुरु गरिएको बताइएको छ । सो परियोजना रु तीन अर्ब छ करोड ४२ लाख ५९ हजार ९२९ को लागतमा दुई वर्षभित्र सम्पन्न गरिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।