सुदूरपश्चिम

पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले वडा नं ५ गडसेरा र वडा नं ६ निरौलीमा गरी कूल ३३ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

गाउँपालिका उपाध्यक्ष एवं अपाङ्गता समन्वय समितिका संयोजक जमुना बोहराले अपाङ्गता भएका व्यक्तिले गाउँपालिका तथा सरकारबाट पाउने सेवा सुविधा पाउन् भन्ने उद्देश्यले घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको बताए । जोरायल गाउँपालिकाका अनुसार यही जेठ ३ गते निरौलीमा १२ जनालाई र जेठ ५ गते गड्सेरामा २१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो ।

स्थानीय सरकारले सकभर जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताअनुसार वडा–वडामा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिएको वडा नं ५ का अध्यक्ष ध्वजबहादुर देउवाले बताए । अन्य वडामा पनि निकट भविष्यमै अपाङ्गता परिचयपत्र वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।