कृषि

मागअनुसारको उत्पादन नभएपछि तरकारीको मूल्यमा वृद्धि

डोटी । मागअनुसारको उत्पादन नभएपछि डोटीमा तरकारीको मूल्य अकाशिएको छ । यहाँका होटेल तथा स्थानीयका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य अकाशिएको हो ।

तरकारीको मूल्य अत्यधिक बढेपछि सबैभन्दा बढी गरीब र विपन्न वर्ग प्रभावित भएका छन् । दिपायल पिपल्लाका स्थानीय किरण भण्डारीले भने, “आवश्यकताअनुसार तरकारी उत्पादन हुन नसकेपछि यहाँ तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।” “तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मजदूरी गरी खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन्”, उनले भने।

यहाँका तरकारी बजारमा सबैभन्दा बढी गोलभेँडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानीय उपभोक्तहरु बताउँछन् । केही दिन पहिले प्रतिकिलो रु १०० मा पाउने गरेको गोलभेँडा एकाएक दुई गुणाले वृद्धि भएको स्थानीय उपभोक्ता सोनु कामीले बताए ।

उनले भने, “प्रतिकिलो रु १०० मा पाइने गोलभेँडा मूल्य अहिले रु २०० पुगेको छ । काउली, सिमलगायतका तरकारीको भाउ पनि अत्यधिक बढेको छ, यसले हामीलाई धेरै समस्या भएको छ ।” पर्याप्तमात्रामा पानी नहुँदा यहाँका कृषकले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएका कारणले पनि तराई र भारतका विभिन्न स्थानबाट तरकारी आयात गर्नुपरेको छ । महँगो मूल्यमा आयात गर्नुपरेकाले मूल्यवृद्धि भएको देउवा तरकारी पसल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताए । उनले भने, “जिल्लामा तरकारी पाउन छोड्यो, तराईबाट तरकारी आयात गर्नुपरेका कारण मूल्यवृद्धि भएको हो ।”

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय जिल्लाबाट समेत तरकारी आयात हुँदै आएको छ । स्थानीय बजारमा अहिले आलु प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ९० कम बिक्री भइरहेका छन् ।

यतिमात्र नभई यहाँको बजारमा तरकारीको मूल्य एकरुपता नभएका कारण व्यापारीले पसले पिच्छे तरकारीको मूल्य अलग अलग लिने गरेको उपभोक्ताको गुनासो छ । यहाँका तरकारी पसलमा पसलैपिच्छे अलगअलग मूल्य लिइँदै गरे पनि मूल्यमा एकरुपता दिन सम्बन्धित निकायले कुनै चासो नदेखाएको दिपायलका स्थानीय हर्कबहादुर बमले बताए । उनले भने, “पसलेपिच्छे अलगअलग मूल्य लिइन्छ तर मूल्यमा एकरुपता दिन कसैले चासो देखाएका छैनन् ।”