लुम्बिनी

गाउँमा सरुवा रोगको प्रकोप, चिकित्सक र औषधि अभाव

बाँके । बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त जण्डिस लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् ।

झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको स्थानीयवासीले बताए । महेशपुरकी मिना बुढाले गाउँमा फैलिएका विभिन्न रोगका कारण स्थानीयवासी आक्रान्त बनेको बताए । “गाउँमा रहेको एउटा स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मी नआएको महिनौँ भइसक्यो”, उनले भने, “स्वास्थ्य चौकीमा सिटामोल दिनका लागि कार्यालय सहयोगीसमेत छैनन् ।” उनका १० वर्षका छोरालाई पनि कमलपित्तले भेटाइसकेको छ ।

“छोरालाई कमलपित्त रोग लागेको एक महीना भइसक्यो, भारतका अस्पताल र नेपालगञ्जसम्म पु¥याउँदा पनि ठीक भएको छैन”, स्थानीय बुढाले भनिन्, “अब त छोराको उपचार गर्ने पैसा पनि छैन ।” यहाँका प्रायः सबै घरमा कुनै न कुनै रोग लागेका व्यक्ति रहेको स्थानीय बासिन्दा बताउँछन् ।

बुढाका अनुसार कमलपित्त रोगबाट थलिएकी ३० वर्षीया कविता रोकाको अवस्था गम्भीर छ । भारतीय सीमा नजिकका अस्पतालमा उपचार गराएकी उहाँको अवस्था ठीक हुनुको साटो झन बिग्रँदै जान थालेको छ । स्थानीयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण कविताको थप उपचार गर्ने अवस्था छैन । राज्यको नजरमा पर्न नसकेका यहाँका आधा दर्जनभन्दा बढी गाउँका मानिस आफ्नो गाउँ आउनका लागि भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य उपचारसम्म भारतमा नै निर्भर रहनुपरेको स्थानीय अम्मर घर्तीले बताए । उनले झाडापखाला, कमलपित्त, शरीर चिलाउने लगायतका रोग एकैपटक देखापरेको बताए ।

“गाउँमा अनेका खालका रोग एकैपटक देखिएका छन्”, घर्तीले भने, “गाउँमा नाम मात्रैको स्वास्थ्य चौकी छ, कर्मचारी कहिल्यै बस्दैनन् ।” आर्थिक अवस्थाका कारण रोग लागे पनि उपचार गर्न भारतीय बजार जान नसकेको उनले बताए । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने यी गाउँमा सरकारी विद्यालयबाहेक अन्य कुनै सरकारी निकायको उपस्थिति छैन ।

एउटा स्वास्थ्य चौकी रहे पनि त्यहाँ दरबन्दीमा रहेका स्वास्थ्यकर्मी महीनौँ आउँदैनन् । सडक सञ्चारलगायतका सुविधा नपुगेको यो गाउँमा पुग्न भारतीय गाउँसम्म सवारी साधनमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर मात्र पुग्न सकिन्छ । बिरामीलाई अस्पतालसम्म पु¥याउनसमेत सास्ती छ । शुक्रबार गाउँमा पुगेकी सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’लाई स्थानीयवासीले स्वास्थ्यकर्मी र औषधि पठाइदिन आग्रह गरे । उनीहरुले सरकारको नजरमा आफूहरु पुग्न नसकेको भन्दै सांसद केसीसमक्ष समस्या समाधान गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य केसीले अति दुर्गम गाउँमा विभिन्न रोग देखापरेको बताउँदै त्यसको नियन्त्रणका लागि आवश्यक पहल गरिएको जानकारी दिए । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित आफू त्यस गाउँमा जाने सांसद नमूनाको भनाइ छ ।

“गाडी पनि नजाने र भारतीय क्षेत्र हुँदै त्यहाँ पुग्नुपर्ने भएकाले अलिकति समस्या देखिएको छ”, उनले भने “ती गाउँमा विभिन्न रोगबाट स्थानीयवासी आक्रान्त भएका छन् । स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टरसहितको टोली लैजान छलफल चलाइराखेको छु । केही दिनमा नै स्वास्थ्यकर्मी र औषधिसहित हामीहरु त्यहाँ जान्छौँ ।”