प्रदेश 1

धैर्य गर्नुहोस्, अब नेपाली जनताले भोग्नुपर्ने दुःखका दिन समाप्त हुँदैछन्: मन्त्री राई

ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै मुख्यमन्त्री राईले भने, “घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहना बमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ ।

समय केही लाग्ला तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ ।” मुलुकको विकासका लागि नेपालीबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले मुलुक समृद्धिको यात्रामा अघि बढेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

तीन दिनको यहाँको बसाईंपछि राजधानी फर्किका मुख्यमन्त्री राईले यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्टसिटीको सम्भाव्यता अध्ययन, बेलायत रहेका नेपालीको सांस्कृतिक तथा सम्मान लगायत कार्यक्रममा सहभागी भएका थिए ।