बाग्मती

पौडी खेल्ने क्रममा एकको मृत्यु, सँगै सडक दुर्घटनामा एक चालकको पनि मृत्यु

धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए।

काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प ९३९१ नंको मोटरसाइकललाई एउटा अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।