कर्णाली प्रदेश

बुलबुलेमा ‘सूर्यमुखी’ आर्कषण

वीरेन्द्रनगर । बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फूलको दृश्य अवलोकन गर्दै ।

यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको । चारजना युवा मिलेर व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ ।

“दिनमा १५० भन्दा धेरै यहाँ आउनुहुन्छ, शनिबार त ३०० जति पुग्छ ।” उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भन्छन्, “हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउने यहाँ अनिवार्य आउनुहुन्छ ।” स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर छ कट्ठा जमीनमा व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेका छन् ।

वार्षिक रु एक लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा रु दुई लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताए। सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति रु १० तिर्नुपर्छ । यसरी दैनिक १५० मात्र आए पनि न्यूनतम रु एक हजार ५०० आम्दानी हुन्छ । “मानिस टिकटको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र पस्ने गर्नुहुन्छ”, उनले भने, “त्यसबेला धेरै बोट भाँचिन्छन् । हामीले घाटा व्यहोर्नुपर्छ । यसकारण प्रतिव्यक्ति रु १० लिने गरेका हौँ ।”

यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रुपमा मात्र आफूहरुले लिएको उनको भनाइ छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालको भनाई छ ।