कृषि

अर्गानिक कृषि उत्पादनसँगै घरबास सञ्चालन

पोखरा । बजारबाट खरीद गरिएका खाद्यान्न एवं तरकारी अर्गानिक भन्दै अधिकांश स्थानमा पर्यटकलाई खुवाउने गरिएको गुनासो बढिरहेका वेलामा यहाँका एक उद्यमी भने कृषि उत्पादनलाई घरबास (होमस्टे) सँग जोड्न सफल भएका छन् ।

देख्दा प्राचीन ढाँचा तर आधुनिक सेवा सुविधासहितका घरबास चलाउन थाल्नुभएका पर्यटन व्यवसायी गोमा ढकालले घरबास सँगसँगै अर्गानिक कृषि उत्पादनलाई समेत अघि बढाएको छ । पोखरा महानगरपालिका–२४ चिप्लेटीमा बाँझो भिरोलो १५ रोपनी जग्गा खरिद गरेर उहाँले अहिले इन्द्रेणी अर्गानिक तरकारी फर्म र घरबास कार्यक्रम सञ्चालन गरेका हुन् ।

उनका अनुसार कृषि फर्म र घरबास कार्यक्रमसँगै खरीद गरेको अर्को १२ रोपनी जग्गामध्ये नौ रोपनीमा विभिन्न जातका फलफूल, तीन रोपनीमा घाँस र अलैँची तथा ११ रोपनीमा धान र मकैखेती गर्दै आइरहेको छ ।

घरबासमा आउने पर्यटकलाई आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न, तरकारी, खोरका खसी, बोका र लोकल कुखुराको मासु तथा भैँसीको शुद्ध दूधको स्वाद पाहुनालाई चखाउने लक्ष्य राखिएको उनले राससलाई बताए ।

आधुनिक हरितगृहभिक्र काँत्रो, धनियाँ, क्याप्सिकम, अकबरे खुर्सानी, रायोसाग लगायतका तरकारी र सामान्य टनेलमा गोलभेडा उत्पादन गर्दै घरबासमा बस्न आउने पाहुनाले अर्गानिक उत्पादनको स्वाद लिने गरेका छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (एकाइ) तरकारी सुपर जोनअन्तर्गत हाइटेक निर्माणका लागि रु १३ लाख ७५ हजार सहयोग प्राप्त गरेका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट अरु कुनै सुविधा नपाएको उनले जानकारी दिए ।

इन्द्रेणी अर्गानिक तरकारी फर्ममा निर्माण गरिएको तापअनुकूलित हाइटेक (हरितगृह) भिक्र यतिखेर कोरियन जातको हरियो काँत्रो लोभ लाग्ने गरी लटरम्म फलेको छ । नरम र पानीको मात्रा अत्यधिक भएका कारण बालबालिका र वृद्धवृद्धालाई खान सजिलो हुने सो काँक्रो उनको घरबासमा मात्र नभई पोखराको पर्यटकीय क्षेत्र लेकसाइड र होटल पोखरा ग्राण्डमा समेत बिक्री गर्दै आएको उनले जानकारी दिए । होटलमा सो काँक्रो सलादका रुपमा प्रयोग हुँदै आएको छ ।

हाइटेकभित्र लगाएका ५०० बोटले उत्पादन दिन थालेको उल्लेख गर्दै ढकालले भने, “ यसबाट अहिलेसम्म एक हजार ५०० केजी बिक्री गरी लगभग रु ९० हजार आम्दानी भएको छ ।” शुरुमा रु ८० होलसेल मूल्य रहेको सो काँक्रो यतिखेर भने प्रतिकेजी रु ५० मा बिक्री हुने गरेको छ । बोरा, माटोसँगै जाली र सानो रडबाट निर्मित गाह्रो र खरको छानो भएको आधुनिक ताप अनुकूलित र भूकम्पबाट पनि सुरक्षित एवं चिटिक्क परेका घुमाउने घर इन्द्रेणी घरबासको पनि छुट्टै आकर्षण रहेको छ ।

सञ्चालक ढकालका अनुसार यी घरमा ढुङ्गा, सिमेन्टसहितको जग तयार भएपछि जमीनको सतहबाट विराटनगरबाट मगाइएको भूकम्परहित बोरा (अर्थ ब्याग) मा चिम्ट्याइलो माटो भरेर सानो फलामे रड, काँडे तारबाट निर्माण गरिएको छ । त्यस्तै गाह्रोको बाहिरी भागमा जाली राखेर रातो माटोले लिप्नुका साथै बाँसको खपेटा राखी खरले छाइएको छ ।

एक रात, दुई छाक सादा खाना, बिहानको नास्ताको प्याकेजमा प्रतिव्यक्ति रु एक हजार लिने गरिएको उनले बताए । एक वर्षको अवधिमा आफ्नो घरबासमा अमेरिका, अष्ट्रेलिया, बेल्जियम, बेलायत, चीनलगायत विभिन्न देशका पर्यटक आउने गरेको उनले अनुभव सुनाए । आन्तरिक पर्यटक छोटो समय बस्ने गरेको भए पनि विदेशीको हकमा भने एक हिनासम्म बस्ने गरेका छन् ।

बोराबाट निर्माण गरिएका चार वटा घरमा आठ जनासहित एउटा अर्को घरमा गरी कूल १६ जना क्षमताको घरबास कार्यक्रममा हालसम्म रु ५० लाखभन्दा बढी लगानी भइसकेको उनले जानकारी दिए ।

सात जनाले रोजगार प्राप्त गरेको सो फर्म सञ्चालनमा उहाँका श्रीमान् हरिबहादुर ढकाल र छोरा सागरबहादुर ढकालको महत्वपूर्ण सहयोग रहँदै आएको छ । पोखराको लेकसाइड हुँदै फेवातालको किनारैकिनार आठ किलोमिटरको दूरीमा मनोरम र शान्त स्थानमा रहेको इन्द्रेणी घरबास र अर्गानिक फर्म यतिखेर अरुका लागि पनि अनुकरणीय बन्दै गएको छ ।