लुम्बिनी

बालमैत्री उपमहानगर बनाउने अभियान जारी

लमही । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर बनाउने अभियान जारी छ । बालश्रम र बालविवाह हुने गरेका उपमहानगरपालिकाका पाँच वडामा अभियान सञ्चालन भइरहेको छ ।

अभियान सञ्चालन भइरहेका ती वडामा बालविवाह र बालश्रम लगाउनु हुँदैन भन्ने चेतनामा वृृद्धि भए पनि व्यवहारमा भने लागू भएको छैन । यसकै फलस्वरुप अझै पनि ती वडामा बालश्रम र बालविवाह भएको पाइएको तुलसीपुर उपमहानगर बाल अधिकार संरक्षण समितिका अध्यक्ष नवराज लामिछानेले बताए।

‘‘हामीले चारवटा वडामा बालविवाह र बालश्रम न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिरहेका छौँ, ती वडाका सबै नागरिक तथा बालबालिकाको सर्वेक्षण गर्दा सबैले बालश्रम र बालविवाह गर्नु कानून विपरीत भन्ने बुझेका छन्’’ उनले भने, “तर पनि बालविवाह र बालश्रम पनि याथावतै रहेको छ ।”

तुलसीपुरको साविक उरहरि, टरिगाउँ र हलबार तथा हालको ४, ७, १०, ११ र १२ नं वडामा सबैभन्दा बढी यो समस्या देखिएको भन्दै ती वडामा बालश्रम न्यूनीकरणका लागि चेतनामूलक नाटक, बालश्रम र बालविवाह नगर्न भनी प्रमुखले पठाएको पत्र, अन्य पर्चा पम्प्लेट वितरण गर्नुका साथै सामाजिक परिचालकमार्फत घरघरमा चेतना प्रदान गरिहेको भए पनि बालश्रम र बालविवाह अझै हुने गरेको पाइएको उनले बताए।

उनका अनुसार पछिल्लो चार महीनाको तथ्याङ्क हेदा ती वडामा ३८२ बालविवाह भएको पाइएको छ । जसमा २८५ बालिका र ९७ बालक रहेका छन् । त्यस्तै ४२ बालक र सात बालिका बालश्रममा रहेको पाइएको छ भने १३४ बालक र १६० बालिकाले विद्यालय छोडेका छन् । अझै पनि बालश्रम तथा बालविवाह उल्लेख्य रुपमा न्यूनीकरण हुन नसकेको भन्दै कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए।

आउँदा दिनमा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्दा उल्लेख्य मात्रामा बजेट व्यवस्थापन गर्नुपर्ने, कार्यक्रमलाई निरन्तरता दिइने, सञ्चारका माध्यमबाट व्यापकरुपमा सचेतनामूलक सूचना सम्प्रेषण गर्ने कार्यलाई निरन्तरता दिनेसमेत बताए। अहिले नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)को आयोजना तथा तुलसीपुर उपमहानगरपालिका, जिविसलगायतको आर्थिक सहयोगमा बालविवाह तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहेको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चुनाराले जानकारी दिए।