गण्डकी प्रदेश

घुम्टेको काखमा घरबास शुरु

गलकोट । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो ।

घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खाना बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको सामुदायिक घरबासले जनाएको छ । “हालै मात्र घरबासको अवधारणा ल्याएका हौँ”, सिद्धथान सामुदायिक घरबासका अध्यक्ष खीम गलामीले भने, “पहिलो चरणमा सात घरबाट घरबासको सेवा प्रदान गर्न थालेका छौँ, पाहुनाको मागअनुसार क्षमतामा वृद्धि गर्ने योजना छ ।”

मगर समुदायको बाहुल्य रहेको पाण्डवखानीका रमणीयस्थल, कला संस्कृति, स्थानीय खानाका प्रकारलगायतले पाहुनालाई आकर्षण गर्न थालेपछि घरबासका रूपमा सञ्चालन गरिएको गलामीले जानकारी दिए । घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै फापरको परिकार, सिस्नो, मकै, भट्ट, गुन्द्रुक, आटोलगायतका परिकारको स्वाद चखाइने घरबासका सञ्चालक बताउँछन् ।

पाण्डवखानीमा प्रचलित सतीघाटु, यानीमाया, सोरठी, भैचै साइलोजस्ता मौलिक संस्कृतिले पाण्डवखानी आउने पर्यटकलाई थप स्मरणीय बनाउनेछ । पाण्डवखानीमा रहेको तामा तथा फलामखानीका सुरुङ, जैलुन, पञ्चधर, कुरिनलगायतका रमणीय स्थान पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्नेछन् । हालै मात्र दर्ता भई सञ्चालनमा आएको घरबासलाई गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पूर्वाधार निर्माणका लागि रु १० लाख अनुदानका लागि सम्झौता भइसकेको घरबासका सञ्चालक हिमाल पुनले बताए । पुनका अनुसार घरबासमा पहिलो चरणमा सातै घरमा तातो चिसो पानीसहितको शौचालय र स्नानगृह निर्माण गर्न थालिएको छ ।

जिल्लाकै उच्च भागमा रहेको घुम्टेको धूरीमा रहेका सिद्धभैरव मन्दिर दर्शन तथा दर्जनौँ सेताम्मे हिमालसहितको दृश्यावलोकनका लागि यपर्यटक घुम्टे पुग्ने गरेका छन् । घुम्टेमा चैतरवैशाखमा रातो र सेतो लालीगुराँसले पर्यटकलाई लोभ्याउने घुम्टेको काख पाण्डवखानीमा घरबास सञ्चालनमा ल्याइएको सञ्चालक कमला सारुमगरले बताए । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिएकाले घुम्न आउने पर्यटकमा वृद्धि भएका कारण घरबासको आवश्यकता देखिएको हो ।

घुम्टेको चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार नाकाबाट पुग्न सकिए पनि अधिकांशले पुरानो मार्ग पाण्डवखानी नै रोज्ने गरेका छन् । पाण्डवखानीबाट तीन घण्टाको पदल यात्रापछि घुम्टे पुगिन्छ । हाल घरबासमा एक रातमा ३५ बस्न सक्ने क्षमतामा सञ्चालन गरिएको छ ।