लुम्बिनी

आयुर्वेद स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिए

तुलसीपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँमै विशेषज्ञ सेवाका साथै औषधिसमेत निःशुल्क पाउने भएपछि स्थानीयवासीको निकै बाक्लो उपस्थिति थियो ।

आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३०० बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिए। शिविरमा धेरैजसो पायल्स, ग्यास्टिक, स्त्री रोग, श्वासप्रश्वास र पत्थरीका बिरामी आएका थिए । आयुर्वेदिक जीवन पद्धतिबाट स्वस्थ नागरिक निर्माण गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको व्यवस्थापक खीमराज रिजालले बताए।

पछिल्लो समय एलोपेथिक उपचार पद्धतिका कारण मानिसलाई औषधिको विभिन्न असर (साइडइफेक्ट) देखिने गरेकाले आयुर्वेदिक जीवन पद्धतिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको डा. थापाको भनाइ छ । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । शिविरमा डा थापा, डा विजय भुर्तेल, डा नदन कँडेल, डा शारदा खनाल, डा आश्मा केसी र डा गोकर्ण दाहाल लगायतले स्वास्थ्य जाँच गरेका थिए।