गण्डकी प्रदेश

स्रष्टा सम्मान, तीन साहित्यकार पुरस्कृत

वालिङ । स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) र ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट युवा साहित्यकार अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले बताए।

विराटनगरमा रहेर नेपाली भाषा साहित्यको विशेषगरी समालोचना विधामा कलम चलाउँदै आएका प्राज्ञ सुवेदीलाई स्याङ्जा साहित्य प्रतिष्ठानले विसं २०५३ मा स्थापना गरेको ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट पुरस्कृत गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि रु १५ हजार ५०० रहेको छ ।

नेपालगञ्जमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा खेलेका योगदानको मूल्याङ्कन गर्दै ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) लाई पुरस्कृत गरिएको हो । नेपाली भाषा साहित्यका कविता, काव्य तथा गजल विधामा कलम चलाउने स्याङ्जाको वालिङका युवा साहित्यकार अग्निकुमार पल्लवलाई ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको छ ।