राजनीति

ऋक्सामा हिँडेर जनताको मन जितेका सभापतिले भने, ‘काँग्रेसले मिडिया बिधेयक कुनैहालतमा पास हुन दिन्न’

बिराटनगर । कहिले सूदूर पूर्बको बिर्तामोड, प्रदेश नम्बर १ को राजधानी बिराटनगर त कहिले सुदूरपश्चिमको धनगढी ऋक्सामा यात्रा गर्दै पार्टीको कार्यक्रममा सहभागी भईरहेका काँग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समयमा बढी चर्चामा मात्रै छैनन् उनी लोकप्रीय पनि बन्दैछन् । नेकपा नेतृत्वको दुईतिहाई मतको सरकारले ल्याएको मिडियालाई सरकारको निर्देशनमा चलाउन खोज्ने बिधेयक संसदमा दर्ता गराएपछि आलोचना गर्ने कम्युनिष्ट लाईनका मिडियाले समेत काँग्रेस सभापति देउवाको बिषयमा सकारात्मक समाचारहरु प्रवाह गरिरहेका छन् ।

मिडिया फ्रेण्ड्ली हुन नजान्ने प्रमुख प्रतिपक्षी दलका नेता तथा पुर्ब प्रधानमन्त्री देउवा तराईको घाममा महँगो गाडीमा सवार गर्नको सट्टा ऋक्सामा सवार गरेर समेत सकारात्मक चर्चामा आउन थालेका छन् । ओली सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय तहका मेयर– उपमेयर र वडाध्यक्षहरुले राज्यलाई आर्थिक ब्यबहार गर्नेगरी बिभिन्न निर्णय गरेकाबेला काँग्रेस सभापति देउवा समाजबादी बाटोमा लाग्नुले समेत राजनीतिक बृतमा सकारात्मक चर्चा पाएको बुझ्न सकिन्छ ।

यससैबीच आज सभापति देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको छ भने ।

सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु काङ्ग्रेसले पारित हुन नदिने बताए । उनले भने, ‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ । जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’’

सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उनले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताए । पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गरे ।
सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र काङ्ग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे ।