बाग्मती

बजेटअभावका कारण देवघाटमा गुरुयोजनाअनुरुप काम हुन सकेन

चितवन । देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रुपमा विकास गर्न निर्माण गरिएको गुरुयोजनाअनुरुपको काम बजेट अभावमा हुनसकेको छैन । २१ वर्षे गुरुयोजना निर्माण भएको १० वर्ष पूरा हुँदा २५ प्रतिशत मात्र काम भएको छ ।

देवघाट क्षेत्र विकास समितिले विसं २०६४ मा निर्माण गरेको गुरुयोजना विसं २०६६ मा सरकारले स्वीकृत गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलले अबका ११ वर्षमा ७५ प्रतिशत प्रगति गर्नुपर्ने चुनौती रहेको बताए । तोकिएको समयमा काम सम्पन्न गर्न सरकारले अब वार्षिक रु २० करोडभन्दा बढी बजेट पठाउन आवश्यक रहेको उनको भनाइ छ ।

समितिका निवर्तमान अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार गुरुयोजना सम्पन्न गर्न तत्कालीन समयको लगत स्टिमेटअनुसार रु एक अर्ब २२ करोड खर्च हुने देखिए पनि मूल्यवृद्धि भएकाले त्यति काम गर्न करीब रु दुई अर्ब हाराहारी खर्च हुनेछ । उहाँले गुरुयोजना निर्माण गर्दा निर्धारित समयमा काम सम्पन्न गर्न हरेक वर्ष रु छ करोडभन्दा बढी रकम आवश्यक पर्ने भए पनि गुरुयोजना बनेयताका वर्षमा बढीमा रु एक करोडसम्म मात्र बजेट निकासा भएको बताए ।

गुरुयोजनामा देवघाट क्षेत्रभित्र बाटो, धार्मिक पर्यटकीय पदमार्ग, दासढुङ्गादेखि बेनीसम्म फराकिलो पक्की सडक, ठिमुरामा पुल, स्नानघाट, पुष्प बाटिका, चौतारा, गुरुकूल, मठमन्दिर निर्माण र जीर्णोद्वार, धर्मशाला, ऐलानी र प्रतिजग्गाको संरक्षणलगायतका काम रहेका उनले जानकारी दिए।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रका धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाको संरक्षण गरी यस धामलाई आध्यात्मिक साधना केन्द्र एवं मोक्ष्य नगरीका रुपमा विकास गर्दै यस क्षेत्रको सांस्कृतिक जीवनका लागि गुरुयोजनामा विभिन्न विकासका गतिविधि समावेश गरिएको बताए।

तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्गमस्थल देवघाटमा मुक्तिनाथबाट प्रवाहित शालिग्राम बाहिनी कृष्णागण्डकी र गोसाइँकुण्डबाट निसृत त्रिशूली नदीको सङ्गमस्थल सनातन संस्कृतिको उद्भवभूमि हरिहर क्षेत्र हिन्दू धर्मावलम्बी र यसका अनुयायीको पुण्यभूमि भएको उनको भनाइ छ । देवघाटमा स्नानका लागि स्वदेशी तथा विदेशी हिन्दू धर्मावलम्बीको ठूलो उपस्थिति हुने गर्दछ । गुरुयोजनाअनुरुपका काम सम्पन्न गरी देवघाटलाई अन्य धार्मिक र पर्यटकीय क्षेत्रसँग जोड्नुपर्ने स्थानीयवासी बताउँछन् ।