लुम्बिनी

संस्कृति जोगाउँदै, पुर्खादेखि चलेको परम्परागत पोशाक शिक्षक–विद्यार्थीलाई अनिवार्य

राजापुर । बर्दियास्थित नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यार्थी र शिक्षकलाई आफ्ना पुर्खाले लगाउँदै आएको परम्परागत पोशाक महिनाको एक दिन लगाउन भनेको छ । उक्त विद्यालयले बालबालिकालाई आफ्नो वेषभूषा र कला संस्कृतिको बारेमा जानकारी गराउनका लागि परम्परागत पोशाक लगाउन लगाएको हो ।

विद्यालयले विद्यार्थी र शिक्षक हरेकले महीनाको एक दिन आ–आफ्नो परम्परागत पोशाकमा विद्यालय आऊने र त्यस दिन कला संस्कृतिको जगेर्ना गर्नका लागि अतिरिक्त त्रियाकलापका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत गर्ने गरेका छन् ।

परम्परागत पोशाकमा शिक्षक र विद्यार्थी देखेपछि अभिभावक पनि हर्षित भएका छन् । हामीले बिर्सन लागेको संस्कृति विद्यालयले सम्झाउन लागेको मधुवन नगरपालिका–४ का गुलावलाल थारूले बताए।

विद्यार्थीलाई अनुशासित र सुसंस्कृत बनाउनाका साथै परम्परागत मूल्य र मान्यता सिकाउनका लागि परम्परागत पोशाक लगाउन लगाइएको विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताए ।