लुम्बिनी

बुद्ध जयन्तीका अवसरमा विशेष समारोह, राष्ट्रपति भण्डारी सहभागी हुने

बुटवल । प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज विविध कार्यक्रम गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज यहाँ आयोजना हुने विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ यहाँ आई दीप प्रज्ज्वलन गर्नाका साथै राजा शुद्घोधनको तिलौराकोटस्थित दरबारको भग्नावशेष अवलोकन गरेका थिए।

उनले आज बिहान मायादेवी मन्दिरमा विशेष पूजा गर्ने, शान्ति र्‍याली शुभारम्भ गर्ने, भिक्षु भिक्षुणीलाई भोजन दान गर्ने, फलफूलका बिरुवा रोप्ने र झण्डोक्तोलन गर्ने कार्यत्रम रहेको भ्रमण वर्ष २०७६का संयोजक कार्यक्रम तथा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए।

आजै प्रदेश नं ५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भसहित बुद्घ जयन्तीसमबन्धी मूल कार्यक्रम औपचारिक रुपमा शुरु हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले २५६३ औँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना शन्देश जारी गर्दै भगवान् बुद्धका उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ भन्दै बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको भएको बताए ।

उनले प्रदेश सरकारले समृद्धिको मुख्य आधार पर्यटन विकासलाई नै बनाएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षको कार्यक्रम महत्वपूर्ण हुने बताए।