प्रदेश 2

प्रहरी समुदाय मिलेर बनाए प्रहरी भवन

सप्तरी । समुदाय र प्रहरी मिलेर सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ प्रहरी चौकी निर्माण गरिएको छ । प्राप्त नगद तथा स्थानीय समुदायको श्रमदान गरी रु ३८ लाख ६० हजार ३२४ को लागतमा सो चौकी निर्माण गरिएको हो । प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित सुविधासहितको नवनिर्मित सो चौकी उद्घाटन गरे।

आफ्नो भवन नहुँदा अति पुरानो भवनमा बसेर काम गर्नुपर्दा प्रहरी नै असुरक्षित भएपछि २०७० सालदेखि स्थानीयवासी र प्रहरी मिलेर भवन निर्माण गर्न थालेका थिए । नयाँ भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रु १३ लाख ४४ हजार उपलब्ध गराएको भवन निर्माण समितिका संयोजक अशोककुमार चौधरीले जानकारी दिए।

उनका अनुसार भवन निर्माणका लागि सप्तकोशी नगरपालिकाले रु १३ लाख सहयोग गरेको र स्थानीयवासीले रु पाँच लाख ६० हजार ४६५ चन्दा सङ्कलन गरेका थिए । दुई कट्ठा १६ धुरमा फैलिएको दुईतल्ले भवनमा कार्यालयका प्रमुख कक्ष, प्रशासनिक कक्ष, महिला तथा पुरुषका छुट्टाछुट्टै हिरासत कक्ष, प्रहरी कर्मचारीको ब्यारेक र भान्छा घरसहित १० वटा कोठा छन् ।