खेलकुद

नेपाली ब्याडमिन्टन टोली चीनको नानिङ प्रस्थान

काठमाडौँ । सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली शुक्रबार चीनको नानिङ प्रस्थान गरेको छ । यही जेठ ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान दुई–दुई पुरुषरमहिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा रत्नजीत तामाङ र दीपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन् । प्रशिक्षकमा उत्तम सिंखडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन सङ्घका कोषाध्यक्ष अनोज बस्नेत छन् । प्रतियोगितामा दक्षिण एशियाका तीनसहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन सङ्घले जनाएको छ ।

दक्षिण एशियाबाट नेपालसहित भारत र श्रीलङ्काको सहभागिता रहने छ । ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासङ्घ र ब्याडमिन्टन एशियाको वार्षिक साधारणमा भाग लिन चीन जादैँछन् ।

अध्यक्ष श्रेष्ठ यही जेठ ७ गते जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसँग चीन गएका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आजै बिदाइ गरेका थिए ।