उर्जा

कुलमानको सकृयतामा बिजुली निकाल्न अबरोध पुर्याउनेलाई प्रहरीले धपायो, काम शुरु

त्रिशूली, नुवाकोट । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका करीब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न महत्वपूर्ण मानिएको त्रिशूली थ्री बी हव सवस्टेशन निर्माणमा देखिएको अवरोध हटेको छ ।

केही स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि गरेको अवरोध शुक्रबारदेखि हटेको र निर्माण शुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सो सबस्टेशनको क्षमता २२० केभी रहेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेंसीमा निर्माणाधीन सवस्टेशनको काम केही स्थानीयले नियतबस रोकेको प्राधिकरणको भनाइ छ ।

त्रिशूली नदी किनारमा बनिरहेको सवस्टेशनमा रसुवाको उत्तरगया–४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गर्नुभएको थियो ।

“नियतबस काममा अवरोध गरेको पाइयो, त्यही भएर जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई सुरक्षा प्रबन्ध गरिदिन आग्रह गरिएको छ । आयोजनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएको छ”, घिसिङले भने । कार्यकारी निर्देशक घिसिङको आग्रहपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आयोजनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

यो सबस्टेसन आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि सोही सबस्टेशनको निर्माण सकिनैपर्ने हुन्छ ।

त्रिशूली नदी किनारमा सवस्टेशनको पर्खाल लगाउँदा स्थानीयले विरोध गरेका थिए । आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खालमाथि सार्न माग गरेका थिए । स्थानीयको मागलाई प्राधिकरणले सम्बोधन गरिसकेको छ । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करीब ६०० मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेशनको निर्माण गर्न लागिएको हो ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहनेछ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । सबस्टेशनको अगामी पुसभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।