समाचार

अब कम्युनिष्ट कहिल्यै फुट्नेटुट्ने छैनन् बरु अरु कम्युनिष्ट पनि जुट्दै जानेछन्ः श्रममन्त्री विष्ट

ईलाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ठूलो टुटफुटपछि एकीकरण हुँदै गरेका कम्युनिष्ट पार्टी अब एकतामा बाँधिन थालेका बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आज उनले विश्वमै लोप हुने अवस्थामा पुगेका कम्युनिष्टलाई नेपालमा स्थापना गरेर प्रतिस्पर्धी र तत्कालीन राज्यसँग लड्नसक्ने बनाउने जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान कम्युनिष्ट आन्दोलनका लागि अतुलिय रहेको उल्लेख गरे ।

“वर्तमान कम्युनिष्ट सरकार पनि मदन–आश्रितकै जगबाट निर्माण भएको हो”, उनले भने, “हामी अबका चार वर्षमा नयाँ काम गरेर जनतासम्म पुर्‍याउने छौँ ।” उनले एक वर्षमा सामान्य असन्तुष्टि पैदा भए पनि अबका दिनमा मुलुकमा समान विकासको अवधारणा ल्याइने समेत बताए ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सरकारका विरुद्धमा लागि परेका छन्”, मन्त्री विष्टले भने, “जनताको एकता कायम रहेसम्म यो सरकार रहिरहन्छ ।” उनले निर्वाचनका समयमा गरेका बाचा सबै पूरा गर्ने प्रतिबद्धता जनाए । उनले भने, “हामी सामूहिक रूपमा जनतासमक्ष गरेका वाचा गर्ने क्रममा छौँ, हामी जनताको मत बिर्सँदैनौँ ।”