समाचार

ओली सरकारले कसैगरीपनि मिडिया विधेयक फिर्ता लिनुपर्छः उपसभापति गच्छदार

काठमाण्डौ । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक कसैगरीपनि फिर्ता लिनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सञ्चारमाध्यमले के लेख्ने के नलेख्ने भन्नेबारे विचार पुर्‍याउनुपर्ने बताए । सरकारले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउन नहुने गच्छदारले बताए । काङ्ग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले प्रतिपक्षी दलको हैसियतले काङ्ग्रेस प्रेस जगतको अधिकारमाथि प्रहार एवं कुण्ठित गर्ने जुनसुकै विधेयकको सदैव विरोध गर्ने धारणा व्यक्त गरे ।

उपसभापति गच्छदारले संसद्मा दर्ता गरिएको सुरक्षापरिषद् र मानव अधिकारसम्बन्धी विधेयकले लोकतान्त्रिक विधि, सङ्घीयता र संसदीय प्रजातन्त्रलाई कमजोर पार्ने हुनाले सरकारले उक्त विधेयक सम्बन्धमा प्रतिपक्षसँग सल्लाह एवं सहमति गरी ल्याउनुपर्नेमा जोड दिए । नेता गच्छदारले वर्तमान संविधान सबैको सहयोगमा निर्माण भएकाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने कार्यको निर्भरता सरकारमा रहेकाले लोकतान्त्रिक विधिबाट मुलुक सञ्चालनमा प्रतिपक्षको सदैव सहयोग रहनेछ भने ।