समाचार

’मदन आश्रितका सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्छ‘

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले मदन भण्डारी र जीवराज आश्रितका विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन् ।

नेकपा व्यास नगरपालिका–१ नं वडा कमिटीले आज मुसेखोलामा आयोजना गरेको २६ औँ मदन आश्रित स्मृति तथा पार्टी एकता दिवसको अवसरमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रका कारण मदन आश्रितले अकालमा ज्यान गुमाउनु परेको र पार्टी सरकारमा पुगे पनि हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् विषय हो भने ।

पार्टीका केन्द्रीय सदस्य एकबहादुर रानाले समाजवाददेखि साम्यवादसम्म पुग्न लागि पार्टीको निर्दिष्ट सिद्धान्तलाई पालना गर्दै पार्टी एकतालाई मजबुत बनाएर लैजानुपर्ने आवश्यकता औल्याए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले जनताको मन जित्ने गरी पार्टीले काम गर्नुपर्नेमा जोड दिए । ऊक्त कार्यत्रममा पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधि सांसद केदार सिग्देल, जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीलगायतले मदन आश्रितका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।