समाचार

विकासका राम्रा पक्ष सिक्न राजनीतिक विचारसँग तर्सिनु पर्दैन- परराष्ट्रमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरेका छन् । सो सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग गरेको अन्तर्वार्ताको सङ्क्षिप्त विवरणः

सर्वप्रथम यो भ्रमण नेपालको प्रधानमन्त्रीको स्तरबाट भएको र पहिलो र ऐतिहासिक भ्रमण हो । यसका मुख्य उद्देश्य केके थिए ?

यो भ्रमण दुवै मित्रराष्ट्रको औपचारिक भ्रमण हो । तीव्र आर्थिक विकास गर्दै अगाडि बढेका भियतनाम र कम्बोडियाको प्रगति र द्वन्द्व व्यवस्थापनका बारेमा अध्ययन गर्नु र युद्धले ध्वस्त भएको मुलुकले छोटै समयमा कसरी आर्थिक रुपान्तरण र उपलब्ध प्राप्त गर्न सक्छ भन्ने कुरा सिक्नु भ्रमणका उद्देश्य थिए । अर्को कुरा देशको समृद्धिको यात्रामा योगदान दिन व्यापार र लगानीको खोजी र पर्यटनको प्रवर्द्धनमा नै भ्रमण केन्द्रित रह्यो ।

मन्त्रीज्यू, तपाईं परराष्ट्र मन्त्री हुनुभएपछि देशको परराष्ट्रनीति अलि फराकिलो हुँदै गएको अनुभूति भएको छ । यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

हो, मैले परराष्ट्र मन्त्रालय सम्हालेपछि सकारात्मक सक्रियता बढाएको छु । नेपालजस्तो देशलाई फराकिलो कूटनीतिक दायराको आवश्यकता छ र यसलाई मैले मुख्यतः चार आयाममा व्याख्या गरेको छु, पहिलो आयामः छिमेक सम्बन्ध, दोस्रो आयामः विकास साझेदारसँग लगानी र प्रविधि आदानप्रदान, तेस्रो आयामः श्रम गन्तव्य मुलुकसँग श्रमसम्बन्धी कूटनीतिक छलफल र चौथो आयामः आफूजस्तै साना र विकासोन्मुख देशको सम्बन्ध बढाउने रचनात्मक कूटनीतिक दायरा विस्तार । यी सबै कार्यमा मैले सफ्ट पावर र स्मार्ट पावरको विस्तारमा ध्यान दिएको छु । त्यसैले अहिले देशको कूटनीतिक दायरा केही फराकिलो भएको छ ।

हाल देशमा कम्युनिष्ट सरकार छ । सरकारले क्रमशः चीन, भियतनाम र कम्बोडियाजस्ता मुलुकको भ्रमण गरिरहँदा यसको राजनीतिक र रणनीतिक महत्व के हुन सक्छ ?

हाम्रो राजनीतिक अभीष्टभन्दा पनि विकास नै पहिलो प्राथमिकता हो । नेपालले राष्ट्रिय हित र अन्तरराष्ट्रिय कानूनअनुकूल रहेर विकास अभियानअगाडि बढाइरहेको छ । यसबीचमा सरकारले १६– १७ वटा मुलुकसँग भ्रमण आदानप्रदान गरिसकेको छ । त्यसकारण यो भ्रमणलाई अन्य अर्थबाट प्रष्ट्याउन जरुरी छैन । विकासका राम्रा पक्ष सिक्न कुनै राजनीतिक आइडोलोजीसँग तर्सिनु पर्दैन ।

यस भ्रमणबाट मुख्यतः कुन पक्षमा ठोस फाइदा पुगेको छ ?

प्रधानमन्त्रीले भन्नुभएजस्तै हामी सबै मुलुकसँग विश्वासको वातावरण निर्माण गर्न चाहन्छौँ । यस सन्दर्भमा यो भ्रमण मित्रराष्ट्रहरूसँग सम्बन्ध बढाउने र विश्वासको वातावरण निर्माण गर्ने कुरामा अत्यन्तै सफल र सकारात्मक रह्यो । मूलतः दुवै देश बौद्धमार्गीहरूको बाहुल्य रहेका देश हुन् । नेपाल गौतम बुद्धको जन्मस्थल भएको हुनाले धार्मिक, पर्यटन प्रवर्द्धन गर्नका निम्ति यो भ्रमण अत्यन्त सकारात्मक र सफल रह्यो । प्रधानमन्त्रीज्यूले अन्तरराष्ट्रिय वैशाख दिवसका अवसरमा करीब ११२ मुलुकका प्रतिनिधिका बीच यो कुरालाई प्रष्ट्याउनुभएको छ र लुम्बिनीको भ्रमण गर्नका निम्ति सबैलाई आह्वान पनि गर्नुभएको छ । त्यस अर्थमा यो भ्रमण नेपालको पर्यटन विकासमा कोशेढुङ्गा सावित हुनेछ ।

यस भ्रमणको सिलसिलामा केही सम्झौता र आशयपत्रमा हस्ताक्षर भएको छ । यसको कार्यान्वयन कहिले र कुन गतिमा अगाडि बढ्ला ?

ती सम्झौता र आशयपत्रहरूको कार्यान्वयनका निम्ति हामीले कन्सल्टेसन मेकानिज्म बनाएका छौँ जसले आजदेखि नै काम शुरु गरेको छ । त्यसकारण त्यसको कार्यान्वयन पक्ष तीव्र गतिमा अगाडि बढ्छ, त्यसमा कुनै शङ्का छैन ।

नेपालको भूराजनीतिक जटिलता एकातिर छँदैछ, अर्कातिर तीव्र आर्थिक वृद्धिमा जानुपर्ने अनिवार्य आवश्यकता छ, यस सन्दर्भमा हेर्दा हाम्रो अर्थकूटनीति कसरी प्रभावकारी बनाउन सकिएला ?

परराष्ट्र मन्त्रालयले अहिले देशगत प्रोफाइल (पार्श्वचित्र) बनाउने काम गरिरहेको छ । कुन देशसँग के अपेक्षा छ र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने प्राथमिकतामा राखेर देशगत प्रोफाइल बनाएका छौँ । अहिलेको सरकार नीतिगत रुपले स्पष्ट छ । परराष्ट्र मन्त्रालयले देश बाहिर रहेका राजदूतहरूलाई स्पष्टरुपमा निर्देशन दिइसकेको छ । राजदूतहरूको मूल्याङ्कन उनीहरूले तत्तत् देशसँग व्यापार विस्तार, पर्यटन प्रवर्द्धन, लगानी र प्रविधि भित्र्याउने दिशामा के के काम गरेका छन् भन्नेबाट नै हुनेछ । अब राजदूतहरू देशको स्पष्ट परराष्ट्र नीतिका आधारमा आर्थिक कूटनीतिलाई अगाडि बढाउने गरी नै केन्द्रित हुनुहुनेछ भन्ने विश्वास मन्त्रालयले गरेको छ ।

परराष्ट्रमन्त्रीको हैसियतमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई के आग्रह गर्न चाहनुहुन्छ ?

सर्वप्रथम म सबैलाई देशमा केही पनि हुँदैन भन्ने खालका निराशाका अभिव्यक्ति बन्द गर्न आग्रह गर्दछु । सबैले देशको विकास, समृद्धि र सामाजिक रुपान्तरण सम्भव छ र यो सरकार त्यस कुरामा केन्द्रित छ भन्ने ढङ्गले नै सम्प्रेषण गरिदिनुहुन आग्रह गर्दछु । यो सरकार विकास र समृद्धि, सामाजिक र आर्थिक रुपान्तरणमा हरेक किसिमले अहोरात्र खटिएको छ र त्यो प्राप्त गर्नका निम्ति सफल पनि हुनेछ भन्ने विश्वास मलाई छ । स्वदेश तथा विदेशी लगानी उत्पादनमूलक क्षेत्रमा खर्च गर्न पनि म सबैलाई आग्रह गर्दछु । विभिन्न भ्रमणका सिलसिलामा हामीले बाह्य मुलुकसँग स्पष्टरुपमा आफ्नो देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर लगानी भित्र्याउन आग्रह गरेका छौँ ।