लुम्बिनी

आगलागीपीडितलाई प्रदेशसभा सदस्यको सहयोग

बेझाड । आगलागीपीडित पाल्पा बगनासकाली गाउँपालिका–१ चिर्तुङधाराका विष्णुबहादुर दिशाको परिवारलाई प्रदेश नं ५ का प्रदेशसभा सदस्य सांसद वीरबहादुर रानाले सहयोग गरेका छन् । रानाले पीडितकै घरमा पुगेर पीडित परिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडा, नगद सहयोग गरेका हुन् ।

सो सामग्री लिएर पीडितको घर पुग्नुभएका सदस्य रानाले विपत् कतिबेला आइलाग्छ भन्ने कुरा यकिन नहुने हुँदा विपत् आइपर्‍यो भनेर नआत्तिन आग्रह गरे। “एक परिवारमा पुगेको क्षतिले गाउँ, समाज र सबैमा पीडा दिएको छ, पीडित परिवारका लागि सदैव सहयोगमा तत्पर रहनेछु”, उनले भने ।

गत वैशाख १८ गते साँझ करीब ७ बजे पीडित विष्णुबहादुर दिशाको घरमा आगलागी हुँदा घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियो । घरमा कोही पनि नभएको समयमा एक्कासि आगलागी भएको पीडित परिवारले जनाएको छ । तीनतले जस्ताको छानो भएको घरमा रहेका अनाज, लत्ताकपडालगायत करीब रु छ लाख बराबरको क्षति भएको छ । घरमा राखिएको रु दुई लाख ३५ हजार रकम पनि जलेर नष्ट भएको थियो ।

सांसद रानासहित नेपाल राष्ट्रिय मगर सङ्घ जिल्ला सभापति झमनराज मगर, नेपाल तरुण दल पाल्पाका सभापति मेजरसिं केसी, नेपाल महिला सङ्घ प्रदेश सदस्य मीना पन्थी, वडा नं १ का सभापति शेरबहादुर चिदीसहितको टोली पीडितको घरमै पुगेर राहत प्रदान गरेको हो ।