राजनीति

नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन यसरी लाग्यो टुङ्गो

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ । पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ ।

बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ । गत वर्ष जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।
बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको आज टुङ्गो लगाएको बताइएको छ । विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार सङ्गठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो । पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।