समाचार

बैंक तथा वित्तीय संस्थाले किसानलाई बिना झञ्झट ऋण दिनुपर्छ- मन्त्री ढुङ्गेल

हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् ।

प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उनले भने, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो–मुकिलो र पहुँचवाला हुनुपर्ने प्रथाको पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउँदै सर्वसाधारण नागरिकले सहज रुपमा सार्वजनिक सेवा पाउने वातावरण सिर्जना गर्नुपर्दछ भने ।

प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानका लागि भनेर स्थापना भएको कृषि विकास बैंकले कृषि क्षेत्र तथा किसानका लागि काम गर्नुपर्ने बताए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रदेश ३ को आवश्यकता र प्राथमिकतालाई हेरेर बैंकले प्रदेशसँग सहकार्य गर्ने बताए । “हामीलाई प्रदेश सरकारले सदुपयोग गरोस्् भन्ने हाम्रो चाहना छ,” उनले भने। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले कृषिमा वित्तीय स्रोतको व्यवस्थापन गरेर उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिए।