समाचार

बेइजिङमा नेपाली मण्डपको आकर्षण

काठमाडौँ । चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए।

चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १५ गते उक्त मण्डप उद्घाटन गरेका थिए । ‘हरित जीवन, उत्तम जीवन’ भन्ने नाराकासाथ आयोजित सो एक्स्पोमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालको प्राकृतिक वातावरण र मानव जीवनका सम्बन्धलाई उजागर गरिएको होटल एशोसिएशन आफ नेपाल९हान०द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पन्ध्र फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्तिलाई बीचमा पारेर नेपालको कृषि, वन र वनस्पति जडीबुटी लगायतको अनुसन्धान एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न उक्त मण्डपमा प्रयास गरिएको संयोजक शाहले बताए । नेपाल भ्रमणमा चिनियाँको बढ्दो मोहलाई लक्ष्य गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको आयोजक संस्थाका अध्यक्ष अमृत शाक्यले बताए ।

आश्विन २ गते उक्त एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रम गरिने भएको छ । सोही अवसरमा नेपाली कलाकौशल र संस्कृति झल्कने नाचगान, साङ्गीतिक कार्यक्रम, नेपाली रैथाने परिकारसहितको खाद्य महोत्सव आयोजना हुने संयोजक शाहको भनाइ थियो ।

एकसय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्था सहभागी सो एक्स्पो ५०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगामी कात्तिकसम्म चल्ने एक्स्पो १६ करोडले प्रत्यक्ष तथा एक अर्बभन्दा बढीले विभिन्न सञ्चारमाध्यमबाट अवलोकन गर्ने बताइएको छ ।