पर्यटन/संस्कृति

मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

चितवन । पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् । सो विमानस्थलसमेत हेर्दै आएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएका छन् ।

गौतमले मेघौली विमानस्थलको धावनमार्ग एक हजार ५०० मिटर लम्बाइ बनाउन सकिने बताए। हाल सो विमानस्थलको लम्बाइ एक हजार मिटर छ । नजिकै २०० मिटर क्षेत्रमा सुकुम्वासीले बसोबास गरेका छन् । उनीहरुलाई विकल्प दिएर विस्तार गर्दा धावनमार्गलाई ५०० मिटर थप गर्न सकिने छ । विमानस्थल क्षेत्र २३ बिघामा फैलिएको छ । धावनमार्ग घाँसेमैदान रहेको छ ।

भरतपुर विमानस्थलमा धावनमार्गका कारण साना जहाज मात्र उडान हुँदै आएको छ । गौतमले मेघौली विमानस्थललाई स्तरोन्नति गर्न सके ७२ सिटे जहाज अवतरण गर्न सकिने बताए । पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले मेघौली क्षेत्रमा रहेका १० होटलमा ३५५ जनाको क्षमता र १० होमस्टेमा ८० जनाको क्षमता रहेको बताए। त्यहाँ आउने पर्यटक र स्थानीयवासीलाई लक्षित गरी पर्यटकीय विमानस्थलको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

विसं २०१६ मा स्थापना भई विसं २०६९ सम्म नियमित उडान हुँदै आएको सो विमानस्थलमा हाल आंशिकरूपमा चार्टरबाहेक अन्य उडान हुनसकेको छैन । गएको सङ्घ र प्रदेशको निर्वाचनको समयमा एक महीना नेपाल एयरलाइन्सले जहाज उडाएको भए पनि त्यसयता निरन्तरता पाउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगरटप्स खुलेसँगै शुरु भएको यस विमानस्थल होटल बन्द भएसँगै बन्द हुनपुगेको हो । पर्यटक भित्र्याउनका लागि विमानस्थल शुरु भएको थियो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले विमानस्थल स्तरोन्नति गरेमा आफ्ना एयरलाइन्सका ठूला जहाज सञ्चालनमा ल्याउन सकिने बताए । पर्यटकीय विमानस्थलका रूपमा यो विमानस्थललाई विकास गर्नुपर्ने उनको भनाइ छ । भरतपुरमा विमान अवतरणका क्रममा समस्या देखिएमा मेघौलीमा आकस्मिक अवतरण गराउन सकिने देखिएको छ ।

विमानस्थलको बुधबार अवलोकनपश्चात प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले दुई विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा चित्रित भरतपुर महानगरका दुईमध्ये भरतपुरलाई आन्तरिक र मेघौलीलाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए। उक्त विमानस्थलको स्तरोन्नतिका लागि प्रदेशसभा र प्रदेश सरकारमार्फत आवश्यक पहल गर्ने उनको भनाइ थियो ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले मेघौली विमानस्थललाई यथास्थितिमा निरन्तरताभन्दा पनि अत्याधुनिक र विकसित स्वरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए। उनले भने, “मेघौलीलाई चितवनको मुख्य विमानस्थल बनाउने कुरामा दुईमत छैन, हामीले यसको पहलकदमी लिनुपर्छ ।” उनले रात्रिकालीन उडानसमेत गर्नसक्ने गरी स्तरोन्नति गर्न सबैले पहल थाल्नुपर्ने बताए।