बाग्मती

‘जनप्रतिनिधिका दुई वर्ष’ पुस्तक सार्वजनिक

बनेपा । धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए। सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने उल्लेख गर्दै धुलिखेल नगरपालिकाको नेतृत्वले वास्तविक सपना देखेर विकासको काममा अगाडि बढेको बताए।

कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहनुभएका अशोक ब्याञ्जुले भने, “हामीले निर्वाचित भएपछि जनताका बीचमा केही काम गरेका छौँ, ती कामको पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको हिसाबले यसलाई पुस्तकमा समेटेर सबै नागरिकसम्म पुर्‍याउने उद्देश्यले अभिलेखका रुपमा तयार गरेका हौँ ।”

पुस्तकमा १२१ योजना समेटेर प्रकाशित गरिएको छ । प्रमुख ब्याञ्जुले अन्तर्राष्ट्रिय लगानी योजनाअन्तर्गत धुलिखेल मेडिसिटी अस्पतालका लागि सात करोड ४० लाख डलर प्रस्ताव गरिएको र ड्रिमल्याण्ड परियोजना धुलिखेलका लागि चार करोड ३० लाख डलर प्रस्ताव गरिएको बताए। त्यससँगै नेपालमा पहिलोपटक मोबाइल एप्समार्फत सबै प्रकारको जानकारी लिन सकिने व्यवस्थाको शुरुआत गरेको छ ।

प्रहरी कार्यालयलाई १० टेलिभिजन सेट हस्तान्तरण

धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धुलिखेलका लागि १० वटा टेलिभिजन हस्तान्तरण गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्कालाई ३२ इन्चका १० एलइडी टेलिभिजनको सेट हस्तान्तरण गरेका हन् । नगरप्रमुख ब्याञ्जुले कैदीबन्दीलाई र प्रहरी जवानलाई सूचना ग्रहण गर्न र मनोरञ्जन लिनका लागि टेलिभिजन सेट प्रदान गरेको बताए।