सुदूरपश्चिम

कृतिम ताल भर्न सौर्यपम्प जडान

कञ्चनपुर । जङ्गली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जङ्गली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा रु तीन लाख ३० हजार रकम खर्चेर दुई हजार वाट क्षमताको सौर्यपम्प जडान गरिएको हो ।

वन क्षेत्रमा रहेका चितुवा, पाटेबाघ, निलगाई, हात्ती, खरायो, स्याल, बाँदर, बँदेल र चराचुरुङ्गीलाई पानी खान सहज होस् भनेर सौर्यपम्प जडान गरिएको सामुदायिक वनका अध्यक्ष बहादुर महराले बताए । बढ्दो गर्मीसँगै चुरेक्षेत्रको वन भएकाले खहरेखोलामा पानी सुक्ने गरेको छ, उनले भने, “प्राकृतिक ताल सुक्ने भएकाले सौर्यपम्प जडान गर्नुपरेको छ ।”

पानीको खोजी गर्दै जङ्गली जनावर मानव बस्तीमा पसेर मानिसलाईसमेत आक्रमण गर्ने गरेका छन् । जनावरको आक्रमणलाई न्यूनीकरण गर्नका लागि सौर्यपम्पबाट १० बिघा क्षेत्रफलमा खनिएको कृत्रिम पोखरीमा पानी भरेर जलाशयजस्तै बनाइएको उनले बताए।

पोखरीमा विपन्न समुदायका व्यक्तिलाई आयआर्जनका लागि माछापालन गर्ने योजनासमेत बनाइएको छ । पोखरीमा माछापालन गरेर वार्षिक रुपमा रु ३५ लाख बढी आम्दानी लिन सकिने अध्यक्ष महराको भनाइ छ ।

जलपक्षीका ताल संरक्षण गरिने

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी ताल संरक्षण गरिने भएको छ । नगरपालिकाले तालको पानी सुकेको भागलाई पोखरीमा परिणत गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । रु १६ लाख लागतमा झण्डै तालको सात बिघा जग्गामा पोखरी निर्माण गर्ने र तालको चारैतिर माटोको पर्खाल निर्माण गर्ने योजना अघि सारिएको नगरप्रमुख पोतीलाल चौधरीले बताए।

तालको पुरिँदै गएको भागमा पोखरी निर्माण गर्दा ताललाई पुरानै अवस्थामा फर्काउन सकिन्छ, उहाँले भन्नुभयो, “पोखरीमा माछापालन गर्दा स्थानीय बासिन्दाको आयस्रोतसमेत वृद्धि हुन्छ ।” आगन्तुक र रैथाने जलपक्षीका लागि पुरैनी ताल प्रख्यात रहेको छ । ताल पहिला ३२ बिघा क्षेत्रफलमा फैलिएको थियो ।

स्थानीय बासिन्दाले तालको वरिपरिको क्षेत्रमा अतिक्रमण गरी खेती गर्न थालेपछि ताल २८ बिघा क्षेत्रफलमा खुम्चिएको स्थानीयवासी रामबहादुर चौधरीले बताए । ताल अतिक्रमण हटाउनका लागि नगरपालिका कार्यालयले जग्गाको नक्साङ्कन गर्ने जनाएको छ । स्थानीय बासिन्दासमेत ताल संरक्षणका लागि काम अगाडि बढाइने भएपछि तालको अतिक्रमण गरेको जग्गा फिर्ता गर्नका लागि सहमत देखिएका छन् ।

ताल संरक्षणका लागि सिद्धेश्वर सहकारी संस्थाले काम अगाडि बढाउँदै आएको छ । तालमा रहेका जलपक्षीलाई संरक्षण गर्न र तालको जैविक विविधता बचाइराख्नका लागि सहकारी संस्थाले स्थानीय बासिन्दालाई सचेत पार्दै आएको छ ।

तराई क्षेत्रका अधिकांश ताल वैशाख, जेठमा सुक्ने गरे पनि यस तालमा बाह्रै महीना एकनाशको पानी रहने गरेको छ । ताल कमलका फूलका लागि समेत प्रख्यात छ । स्थानीय थारू भाषामा कमललाई पुरैना भन्ने गरिएका त्यसै आधारमा तालको नाम पुरैनी राखिएको हो ।