गण्डकी प्रदेश

प्रहरीकै पैसा बोकेर फरार, दुव्र्यसनीका घरघरमा प्रहरी

बलेवा । गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी गर्‍यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुव्र्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएको प्रहरीले दुव्र्यसनीको पहिचान गरेको हो ।

झण्डै एक हप्ताको प्रयासपछि दुई समूहमा आबद्ध आठ प्रहरीको समूहले ४० दुव्र्यसनी रहेको पत्ता लगाएको थियो । पहिचान भएका दुव्र्यसनीलाई प्रहरीले पक्राउ भने गरेको छैन । लागुऔषध दुव्र्यसनी कम गर्न अभियान चलाएको प्रहरीले दुव्र्यसनी र उनीहरुको परिवारलाई एकै ठाउँमा राखेर परामर्श दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

आफ्नै छोराछोरी दुव्र्यसनीमा लागेको विषयमा जानकारी समेत नभएको परिवारमा पुगेका प्रहरीले लागुऔषध दुव्र्यसनीको असर र त्यसबाट परिवार तथा समाजमा पर्ने असरका विषयमा जानकारी गराउने गरेको छ । प्रहरीले लागुऔधष प्रयोगकर्तालाई पक्राउ गरेर कारवाही गर्ने कानूनी आधार नभएका कारण उनीहरुको पहिचान गरेर परामर्श दिने गरिएको शर्माले जानकारी दिए।

पहिचान भएका सबै दुव्र्यसनी प्रारम्भिक चरणको प्रयोगकर्ता भएकाले उनीलाई पारिवारिक वातावरणबाट सुधार गर्न थालिएको उहाँले बताए। अहिले पनि प्रहरीले उनीहरुको घरघरमा पुगेर परिवार र सेवनकर्ता सबैलाई राखेर परामर्श दिने गरेको छ ।

लागुऔधको प्रयोग र व्यापारलाई नियन्त्रण गर्न सशक्त अभियान चलाइरहेको प्रहरीले थप २७ जनाको पहिचान गरेर पक्राउ नै गरेको छ । पक्राउ परेकामध्ये १३ प्रारम्भिक चरणकै प्रयोगकर्ता रहेकाले परामर्शपछि तारेखमा छोडिएका छ भने दुई वर्षभन्दा धेरै निरन्तर लागुऔषध प्रयोग गर्दै आएका छ जनालाई सुधार केन्द्र पठाइएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए।

प्रहरीकै पैसा बोकेर फरार

जिल्लामा लागुऔषको प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ । साधा पोशाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरीद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले रु १० हजार ५०० ठगेर बेपत्ता भएका छन् ।

पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको शर्माले जानकारी दिए। “पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको सिस्टम हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास गर्‍यौँ”, उनले भने, “तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो ।” जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भइरहेको शर्माले बताए।