मनोरञ्जन

नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र ‘अप्पन’ उत्कृष्ट

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा ‘अप्पन’ चलचित्र उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा मंगलबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता कृष्णकुमार महतोलाई नगद रु दुई लाखसहित प्रशंसापत्र प्रदान गरे।

प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भए । समारोहमा दोस्रो हुने चलचित्रलाई रु एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई रु एक लाख नगद र प्रशंसापत्र प्रदान गरियो ।

समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन लेखलाई पुरस्कृत गरियो । महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भए । उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।


सोही समारोहमा प्रधानसेनापति थापाले नेपाली सेनासम्बन्धी विभिन्न जानकारी मूलक मोबाइल एपकोसमेत शुभारम्भ गरे। कार्यक्रममा बलाधिकृत रथी शरदकुमार गिरीले सैनिक रेडियो कार्यक्रम प्रशारण गर्ने छ वटा रेडियो तथा एफएम स्टेशनलाई कदरपत्र प्रदान गरे ।

‘नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी २०७५’ मा हुने टुमु कोतखाना डिपो, द्वितीय हुने प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र तृतीय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय लगायतलाई पनि समारोहमा प्रशंसापत्र प्रदान गरियो ।

प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ । यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा ११ चलचित्र सहभागी थिए ।