लुम्बिनी

व्यक्ति बेपत्ता मुद्दामा पाँच वर्ष कैद

रुकुमपुर्व । शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा दुई जनालाई रुकुमकोट जिल्ला अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायधीश दुर्गाबहादुर भुसालको इजलासले पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक निवासी खिन्टे भनेर चिनिने विकास बुढामगर र वडा नं– २ हिमका रामराज भनिने रामकृष्ण झाँक्रीलाई जनही पाँच वर्ष कैद र रु ५० हजार जरिवाना सुनाइएको अदालतका श्रेस्तेदार सुुशीलकुमार यादवले बताए।

साथै पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भराइदिने बताइएको छ । त्यसैगरी सोही घटनाका कसुरदारलाई आश्रय दिएको भन्दै वडा नं– २ पेल्माका विनोद खत्रीलाई नौ महीना कैद सजाय सुनाइएको रुकुमकोट जिल्ला अदालते जनाएको छ ।

केसीलाई बेपत्ता पारेकै अभियोगमा थुनामा परेका सोही वडाका वडाध्यक्ष सतसिङ बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामीले सफाइ पाएका थिए । सोही वडाका दुई अभियुक्त धर्मसुर बुढा र थकान पुन भने अझै फरार छन् ।

खिन्टे पनि भनिने बुढामगर योभन्दा अगाडि पनि जबरर्जस्ती करणी उद्योगमा डेढ वर्षको सजाय काट्दै गरेको अदालतले जनाएको छ । अदालतका अनुसार अहिले पुनःव्यक्ति बेपत्ताको मुद्दामा सजाय काटिरहेको बुढाको नाममा ज्यान मार्ने उद्योगको मुद्दा पनि दर्ता भएको छ ।

सिस्ने गाउँपालिका–६ रुकुमकोट घर भई पुथा उत्तरगङ्गा गाउँपालिकास्थित आधारभूत विद्यालय पेल्म–२ मा अध्यापनरत शिक्षक केसीलाई गत साउन ३१ गते कुटपिट गर्नाका साथै भदौ १४ गतेदेखि बेपत्ता पारिएको थियो ।