समाचार

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गरेका छन् ।

कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ आइपुगेका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए ।

उनले दुवै नेताले दुई देशका संसद्बीच आदानप्रदान गर्ने तथा सुदृढ बनाउने सहमति भएको पनि बताए । प्रधानमन्त्री ओली भियतनामको पाँच दिने औपचारिक भ्रमणपछि सोमबार आइपुगेका हुन् ।

कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्री ओलीको भ्रमणले कम्बोडिया अधिराज्य र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगलाई प्रबद्र्धन गर्ने अपेक्षा गरेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवका साथै नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि उपस्थिति थियो ।