बाग्मती

एक सय हेक्टर नयाँ माछा पोखरी थपिने

रत्ननगर । चितवनमा यस वर्ष एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण भएको छ । माछापालनका लागि प्रोत्साहन गर्न भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको माछा ब्लक र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमबाट एक सय हेक्टर नयाँ माछा पोखरी निर्माण हुन लागेको हो । ब्लक कार्यक्रमअन्तर्गत माछापालक कृषकलाई नयाँपोखरी खन्नका लागि रु दुई करोड ५४ लाख अनुदान दिन लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख डा विजय श्रेष्ठले जानकारी दिए ।

यसका लागि अहिले ब्लक समितिभित्र रहेका कृषकसँग सम्झौता भइरहेको उनले बताए । “शुरुमा पोेखरी खन्ने सम्झौता हुन्छ”, उनले भने, “त्यसपछि कृषकले खनेको पोखरीको प्राविधिबाट नापजाँच हुन्छ । कृषकले प्रतिकठ्ठा १२ हजारका दरले अनुदान पाउँछन् ।’माछा ब्लक कार्यक्रममा यस वर्ष मन्त्रालयले खैरहनी र राप्तीनगरपालिकालाई थप गरेको छ । उनका अनुसार यसअघि माडीमा मात्र माछाको ब्लक कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । डा. श्रेष्ठले माछाको उत्पादनमा वृद्धि गर्न क्षेत्रफल नै वृद्धि गर्नुपर्ने भएकाले सरकारले मत्स्य क्षेत्र बनाउन ब्लक र मुख्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

अहिले जिल्लाका कृषकलाई माछापालनका लागि सरकारले प्रदान गर्ने अनुदानले यसतर्फ आर्कषण बढ्दो छ । अनुदान आउनुपूर्व आफ्नै लगानीमा पोखरी निर्माण गरेका कृषक अहिले अनुदानमा पनि पोखरीको क्षेत्रफल वृद्धि गरी रहेका छन् । कुखुरापालन, केरा हुँदै माछा पनि चितवन आत्मनिर्भरका लागि अगाडि बढिरहेको कृषि विज्ञ बताउँछन् । चितवन जिल्लामा अहिले ५३९ हेक्टर जलाशयमा माछापालन भइरहेको छ । त्यसबाट वार्षिक दुई हजार दुई सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

यस्तै प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत नयाँ मुख्य क्षेत्रका लागि रु २९ जनालाई रु पाँच लाखका दरले एक करोड ४५ लाख र पुरानो मुख्य क्षेत्रका लागि ९५ जनालाई रु दुई लाखको दरले रु एक करोड ९० लाख अनुदान दिइने भएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार नयाँ र पुराना कृषकलाई गरी करीब रु १८ करोड को अनुदान दिन लागिएको छ । यस वर्ष अनुदान विभिन्न बालीअन्तर्गत धान, मकै, गहुँ, तरकारी, आलु, च्याउ र मौरीपालक कृषकलाई दिन लागिएको हो ।